घोषणापत्रमा आकर्षक नारा कार्यान्वयनमा आशंका

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७४ कार्तिक २९, बुधबार) ०५:३१

आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समय नजिकिएसँगै अहिले मुलुकभर विभिन्न राजनीतिक दलले वैदेशिक रोजगारीको नारालाई विशेष प्राथमिकतामा राखेर आ–आफ्ना चुनावी घोषणापत्रमार्फत मतदातालाई आश्वासन बाँडिरहेका छन् । अहिले देशैभर राजनीतिक दलका चुनावी नारा विदेशमा कार्यरत ४० लाख नेपालीलाई घर फर्काएर स्वदेशमै रोजगारी दिन्छौं भन्ने खालका निकै चर्का रहेका छन् ।

अहिलेको निर्वाचनमा मात्र होइन, विगतका निर्वाचनदेखि नै उनीहरूले अब वैदेशिक रोजगारी बन्द गछौं, युवालाई स्वदेशमा भनेजस्तो काम गर्ने वातावरण बनाइदिन्छौं भन्दै आए पनि अहिलेसम्म उनीहरूका ती नारा चुनावपछि हराएका छन् । उनीहरूले यसअघि बोल्दै आएका प्रतिबद्धता कार्यान्वयनमा समेत चासो नदेखाएकै कारण अहिले दैनिक हजारौं युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिरहेका छन् । स्वदेशमै भनेजस्तो काम नपाएर न्यून आयका लागि पनि बाध्यतावश वैदेशिक रोजगारीमा जानुपरेको कामदारहरूको भनाइ छ ।

दुई चरणमा सम्पन्न हुन लागेको यसपटकको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त घोषणापत्र, नेपाली कांग्रेस, राप्रपालगायतका राजनीतिक दलले सार्वजनिक गरेको घोषणापत्रमा पनि वैदेशिक रोजगारीका समस्या समाधान गर्ने र स्वदेशमै रोजगारीको प्रत्याभूति सिर्जना गर्ने विषयलाई मुख्य एजेन्डाका साथ उठाइएका छन् ।

आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा ‘गैरआवासीय नेपाली र वैदेशिक रोजगार’ शीर्षकमा मुलुकमा बेरोजगारीको अवस्था कहाली लाग्दो रहेको उल्लेख गर्दै समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बन्यो भने हाल विभिन्न मुलुकमा कार्यरत ४० लाख नेपालीलाई स्वदेश फर्काउनेलगायत अनेकौं आकर्षक नारासहितको घोषणापत्र प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसको घोषणापत्रमा भनिएको छ, ‘वैदेशिक रोजगारीले जीवन निर्वाहका लागि केही अवसर प्रदान गरे पनि बढ्दो परनिर्भरता, पारिवारिक समस्या र सामाजिक बेथितिलगायतका घटना पछिल्लो समय निकै बढेका छन् । त्यसैले स्वदेशमै रोजगारीका अवसरको व्यवस्था रुग्ण उद्योगको प्रवद्र्धन र वैदेशिक रोजगारी व्यवस्थापनमा सरकारले गम्भीर पहल गर्नुपर्ने अवस्था आएको छ’ कांग्रेसले अब यस दलले अहिलेका सम्पूर्ण समस्या सहज रूपमा समाधान हुने र भावी दिनमा गर्ने दीर्घकालीन योजनालगायत बुँदाहरूलाई शब्दमा निकै आकर्षक बनाएर प्रस्तुत गरेको छ ।

वैदेशिक रोजगारमा संलग्न र विदेशबाट फर्किएका नेपाली कामदारले त्यहाँ हासिल गरेको सीप, दक्षता, पुँजी र विपे्रषण आयलाई उत्पादनमूलक प्रयोजनमा लगानी गर्दै भविष्यमा निवृत्तिभरण सरहको लाभांश पाउने गरी रेमिट हाइड्रो, रेमिट पूर्वाधार बैंक, रेमिट आवासजस्ता नवीन आयोजनाको कार्यान्वयन गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

यसैगरी, वाम गठबन्धनको घोषणापत्रमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गरिने तथा त्यहाँ रहेका विकृतिलाई कडाइका साथ नियन्त्रण गरिनेमा जोेड दिइएको छ । देशलाई आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्दै रोजगारदाता मुलुकसँग श्रम सम्झौता गरी सरकारी माध्यमबाट श्रमिक पठाउने व्यवस्था गरिने गठबन्धनको घोषणापत्रमा उल्लेख छ । सरकारी माध्यमबाट श्रमिक पठाउने गठबन्धनको बुँदालाई धेरैले सकारात्मक कदमका रूपमा लिए पनि वैदेशिक रोजगार व्यवसायी यसमा असहमत देखिएका छन् । वाम गठबन्धनको घोषणापत्रमा युवालाई तालिम र प्रशिक्षणद्वारा दक्ष तथा अर्धदक्ष श्रमिकका रूपमा विकास गरेर मात्रै वैदेशिक रोजगारीमा पठाउन पाउने, केन्द्र, प्रदेश र स्थानीय तहमा दक्ष श्रमशक्ति आपूर्ति केन्द्र स्थापना गरिनेलगायतका नारा उल्लेख छ ।

वाम घोषणापत्रमा देशमा प्राप्त हुने विप्रेषणको ९० प्रतिशत हिस्सा राष्ट्रिय उत्पादनमा लगाइने । वैदेशिक रोजगारीका क्रममा नेपालीले प्राप्त गरेको सीपलाई प्रमाणीकरण गरी राष्ट्र निर्माणमा उपयोग गरिनेलगायत उल्लेख छ । यसैगरी यस गठबन्धनले बढ्दो रोजगारी हटाउने तथा रोजगारीको सिर्जना गर्ने विषयलाई पनि घोषणापत्रमा जोड दिएका छन् ।


(२०७४ कार्तिक २९, बुधबार) ०५:३१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको.....

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल.....

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई.....

Exchange Rate

Nepali Patro