रेतको छायाँमा इन्द्रभूमीको सपना ( कबिता )

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ भाद्र ३१, शनिबार) ०३:१३

म बाँचे – मार्छु रेटेरै
यो विभेदलाइ भन्थ्यो
म मरे मर्छु
सल्काएर बिद्रोहको चिंगारी भन्थ्यो
फुटालेर मुहान न्यायपूर्ण विकासको
म भर्छु खाडल गरिबी र असमानताको भन्थ्यो
बोकेर रक्तरञ्जित झण्डा
म देखाउँछु जितेर संसार भन्थ्यो
तर ऊ मरेन
अर्थात ऊ बाँच्यो
अस्ती एउटा लिखत आयो –
ग्लानीले मरिरहेछु भन्छ
पानी पानी भइरहेछु भन्छ।

सपनाका तखताहरुमा सजाइएका
महान क्रान्तिको गीत गुनगुनाउँदा
ढालेर कालो पर्खाल
भेदेर निशाको छाती
म ल्याउँछु उम्दा बिहानी
जितेर समर भन्थ्यो
अस्तीको पत्रमा लेख्यो-
“उम्दा बिहानीको यात्रामा म छलिएँ
क्रान्तिवीरहरुबाटै छलिएको रहेछु म।”

अस्ति नै मूलबाटोमा भेट भएथ्यो
म अनाहकमा बाँचेछु भन्थ्यो
म त रुन सकिन
ऊ भित्रभित्रै रोएर गएथ्यो ।

म सजाउँछु सिस्ने भन्थ्यो
म जलाउँछु जलजलाको ज्वालाले
धर्तीका बोझहरु सारा भन्थ्यो
मलाइ नयाँ गढीमाइ बनाउने रहर छ भन्थ्यो
मलाइ नयाँ कोतपर्व रचेर
एक – एक छिमल्छु अन्यायका हाँगा भन्थ्यो
हिजो अको तार पठाएछ-
“म त हेरिरहेछु तस्वीर
अरबको खाडीमा
सेरिएर मरेको पूर्वलडाकूको” भन्छ।

हिजै हात पर्यो उसको पत्र
पूर्वलडाकूको नाममा
अरबको खाडी ‘डेटलाइन’मा
चाल्दैछु बालुवा अरे
सुल्तानका सपनाहरु
ठड्याउँदैछु ‘बुर्ज खलिफा’ अरे
‘मिराकल गार्डेन’अघि उभिएको
एउटा तस्वीर थियो साथमा
‘क्याप्सन’ थियो-
“सपनाको बगैंचाअगाडि सपना गुमाएको मान्छे” अरे !

पत्रको पुछारमा थियो
एउटा घतलाग्दो प्रश्न –
‘त्यो बारुदको खेती सही थियो
त्यो आगोको लप्का सही थियो
त्यो लाशको खात पनि सही थियो
तर क्रान्तिको गन्ध
सत्ताको मदिरासँग कसरी साटियो ?
शासनमा गएसी शहीदको रगत गन्हाउँछ हो ?’

हेलिएर क्रान्तिको दबदबे हिलोमा
खोज्दा खोज्दै देशभित्र मिनार
‘जेविल जैस’ र ‘जलाकी’मा खसेको
मैकोट र हुकामको चंगा
इन्द्रभूमीको सपना देखिरहेछ।

 

लेखक: प्रोस्त्याम ल्याम्सोल

हाल : अमेरिका


(२०७४ भाद्र ३१, शनिबार) ०३:१३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना