ए मेरो हजुरअघि फिल्म छाडेर जागिर गरूँ जस्तो लाग्थ्यो : अभिनेत्री झरना थापा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ भाद्र २६, सोमबार) ०४:४२

अभिनेत्री हुँदै ‘ए मेरो हजुर–२’बाट निर्देशकका रूपमा डेब्यु गरेकी झरना थापा अहिले पुलकित छिन् । १६ भदौबाट प्रदर्शनरत ए मेरो हजुर–२ ले हाल दोस्रो सातामा पनि दर्शकको साथ उत्तिकै उत्साहजनक पाइरहेको छ । झन्डै सवा एक सय फिल्ममा अभिनय गरिसकेकी झरनाले ए मेरो हजुर–२ मा भने विशुद्ध निर्देशकको जिम्मेवारी मात्र निर्वाह गरेकी छिन् । अर्थात्, फिल्ममा उनले अभिनय गरेकी छैनन् । उनलाई फिल्म रिलिजअघि सफलता–असफलताको त्रास निकै लागेको थियो रे । अरू केके भएको थियो ? झरनासँग लक्ष्मण सुवेदीले गरेको कुराकानीः

फिल्म निर्देशकका रूपमा पनि तपार्इंलाई सफलता प्राप्त भयो, कस्तो लागिरहेको छ ?

म एकदम खुसी छु । रिलिजअघिसम्म मलाई मनमा कता–कता डर लागेको थियो, केही गरी हलमा दर्शक आएनन् भने त चौपट हुन्छ भन्ने त्रास थियो । तर, जब प्रिमियर सोबाट सबैको तारिफ पाएँ, त्यसपछि भने फिल्म चल्छ भन्ने विश्वास बढेर गयो । मलाई फिल्म चल्छ भन्ने त पहिला नै थाहा थियो । तर, यत्तिको चल्ला भन्नेचाहिँ सोचेकी पनि थिइनँ । म सबैको साथ र सहयोगले सफल भएकी छु । यो खुसीलाई सधँै कायम राख्ने कोसिस गर्नेछु ।

तपाईंहरूले श्रीकृष्ण श्रेष्ठ जीवित छँदै ‘ए मेरो हजुर–२’ निर्माण गर्ने चर्चा चलेको थियो नि ?

हो, त्यतिवेलै हामी ए मेरो हजुर–२ निर्माण गर्ने योजनामा पुगेका थियौँ । श्रीकृष्ण दाइसँग अनौपचारिक रूपमा कुराकानी पनि भएको थियो । तर, त्यतिवेला म पनि व्यस्त थिएँ । दाइ पनि व्यस्त हुनुहुन्थ्यो । त्यसैले उहाँलाई लिएर ए मेरो हजुरको सिक्वेल बनाउने सपना पूरा भएन । तर, पनि ए मेरो हजुर–२ भित्र हामीले श्रीकृष्ण दाइको झल्को प्रस्तुत गरेका छाँै । श्री दाइ भइदिएको भए यो फिल्मको कथा अर्कै हुने थियो । म पनि फिल्ममा देखिने थिएँ ।

ए मेरो हजुर–२ मा पहिला अनमोल केसी थिए, तपार्इंहरूले हङकङमा अनमोलसहित फिल्म घोषणा गर्नुभएको थियो । पछि, फिल्ममा अनमोल रहेनन्, खास कारण के हो ?

हो, ए मेरो हजुर–२ मा पहिला अनमोल थिए । हङकङमा सम्पन्न नेफ्टा अवार्ड सेरोमोनीमा हामीले अनमोलसहित फिल्मको घोषणा गरेका थियौँ । त्यतिवेला अनमोलको होम प्रोडक्सनको ‘ड्रिम्स’ प्रदर्शन हुने क्रममा थियो । ड्रिम्स रिलिजसँगै हाम्रो फिल्म सुटिङ गर्ने तयारी थियो । तर, उनी ड्रिम्स सो गर्नका लागि विदेश जानुपर्ने भएकाले पाँच–सात महिना समय दिन नसक्ने बताए । हामीले उनलाई त्यत्तिका महिना कुर्न सक्ने अवस्था थिएन । त्यसकारण सहमतिमै अनमोल बाहिरिएका हुन् । अनमोलले नभ्याउने भएपछि हामीले सलिनमान बनियाँलाई डेब्यु गराएका हौँ । अनमोलबाहेक हामीले अरू कसैलाई अफर गरेनाँै ।

तपाईंले सधैँ सिनियर कलाकारसँग काम गरिरहनुभएको थियो, तर तपार्इंको फिल्ममा नव–युवायुवतीको बाहुल्य छ, कहिलेकाहीँ लागेन, केटाकेटीलाई लिएर म यो के गर्दै छु ?

हाम्रो फिल्मको स्क्रिप्टले नै भर्खरका युवायुवती मागेकाले मलाई कहिल्यै त्यस्तो लागेन । म सधँै सिनियर कलाकारसँग काम गरिरहेकी थिएँ । त्यसकारण नयाँ युवायुवतीलाई मात्र लिएर फिल्म गर्दा के होला भन्ने कुतूहलचाहिँ थियो । तर, डर भने कत्ति पनि लागेको थिएन । फिल्मका मुख्य कलाकारमा सलोन, बुद्धि तामाङ मात्रै त पुराना थिए नि ! सलोनसँग त बच्चैदेखि काम गरेकी हुँ । साम्राज्ञीले एउटा मात्रै फिल्ममा अभिनय गरेकी थिइन् । सलिनमानले त कहिल्यै फिल्म गरेका थिएनन् । तर, पनि मलाई कहिल्यै गल्ती गरेँ कि भन्ने लागेन । मलाई आफ्नो फिल्मको विषयवस्तु र कलाकारमा विश्वास थियो । त्यसकारण कहिल्यै थकथकी मान्नुपर्ने पल आएन ।

कहिल्यै अभिनय नगरेका सलिनमानलाई काम गराउन असहज भएन ?

हामीले सलिनमानलाई डेब्यु गराउने भएपछि झन्डै चार महिना वर्कसप चलायौँ । वर्कसपमा उनले फिल्मसम्बन्धी थुप्रै कुरा जान्ने, बुझ्ने अवसर पाए । म, बुद्धि तामाङलगायतले हाम्रो फिल्मका कलाकारलाई अभिनय, प्रस्तुतिबारे सिकायाैँ, बुझायौँ । सुरुका दिनमा सलिनमान अलि खुल्न सकेनन् । पछि–पछि उनले आफूलाई निकै सुधारेर लगे । त्यसकारण सुटिङमा समस्या भएन । आवश्यक कुराको पहिला नै जानकारी भएकाले सबैले निकै खुलेर काम गरे । त्यो पर्दामा देखिएकै छ नि !

तपाईं आफूलाई सानो भए पनि भूमिका निर्वाह गरूँ भन्ने लागेन ?

होइन, म निर्देशनमा मात्रै केन्द्रित थिएँ । त्यसैले मैले यो फिल्ममा अभिनय गर्ने बारेमा सोच्दै सोचिनँ । तर, मलाई फिल्ममा रहेको ‘किनी देउन साइँला दाइ’ गीतमा भने लोभ लागेको थियो । ‘मुग्लान’ फिल्मको ‘आज बाह्र हाते पटुकी’, ‘जीवनसाथी’ फिल्मको ‘आँखैमा सपनी छ’जस्ता हिट गीतमा मैले नृत्य गरेकीले यो पनि मेरो टाइपको गीत लागेको हो । तर, आफैँ नाचूँ भन्नेचाहिँ लागेन ।

ए मेरो हजुरदेखि ए मेरो हजुर–२ सम्म आइपुग्दा आफ्नो सोच, योजना र शैलीमा आएको परिवर्तन के पाउनुहुन्छ ?

धेरै कुरामा परिवर्तन पाउँछु, म । खासमा ए मेरो हजुरमा अभिनय गरेपछि मात्रै म फिल्ममै करिअर बनाउँछु भन्ने निर्णयमा पुगेकी हुँ । त्यसअघि अभिनय गरेका फिल्ममा त व्यावसायिक सफलता पाए पनि मेरो अभिनयको भने उत्तिसाह्रो चर्चा हुने गरेको थिएन । तर, जब मैले ए मेरो हजुरमा अभिनय गरेँ, दर्शक, फिल्मकर्मी, सञ्चारकर्मी सबैले मेरो अभिनयको तारिफ गर्नुभयो । त्यसभन्दा अघि मलाई म अभिनय गर्न सक्दिनँ । फिल्ममा मेरो करिअर बन्दैन, फिल्मका लागि म उपयुक्त छैन भन्ने लागेको थियो । त्यतिवेला मलाई फिल्म छाडेर कुनै बिजनेस गरूँ कि, कतै जागिर गरूँ कि भन्नेसम्मको सोच आउँथ्यो । तर, ए मेरो हजुरको सफलताले मेरो सोच बदलिदियो । त्यसपछि नै म व्यावसायिक रूपमा फिल्म अभिनयमा लागेकी हुँ । अहिले आएर ए मेरो हजुर–२ ले मलाई निर्देशकका रूपमा अर्काे पाइला अघि बढाउने हौसला दिएको छ । अब म निरन्तर रूपमा फिल्म निर्देशन गर्छु । मेरो कर्म नै फिल्मकारिता हो ।

अबको योजना के छ ?

अहिले फिल्म दोस्रो सातामा सफलताका साथ प्रदर्शन भइरहेको छ । पहिलो साताको व्यापारले हाम्रो लगानी उठिसकेको छ । अहिले नाफामा चलिरहेको छ । फिल्म रिलिज सकिएपछि अर्काे फिल्मको तयारीमा लाग्छु ।


(२०७४ भाद्र २६, सोमबार) ०४:४२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक.....

Exchange Rate

Nepali Patro