बैंकमा अधिक तरलता : घटेन ब्याज

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ भाद्र २१, बुधबार) ०२:५१

वित्तीय प्रणालीमा करिब ७० अर्ब रुपैयाँ अधिक तरलता भए पनि बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर घटाएका छैनन् । यसअघि तरलता संकट भएको भन्दै ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाले हाल कोषको लागत (कस्ट अफ फन्ड) नघटेको भन्दै ब्याजदर घटाउन आनाकानी गरिरहेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा करिब ७० अर्ब रुपैयाँ अधिक तरलता छ । बैंकहरू पनि कम्तीमा ६० अर्ब अधिक तरलता (लगानीयोग्य रकम) रहेको स्विकार्छन् । हालसालै राष्ट्र बैंकले विभिन्न औजारमार्फत पटक–पटक बजारबाट पैसा खिच्नुले पनि वित्तीय प्रणालीमा अधिक तरलता रहेको पुष्टि हुन्छ ।

केन्द्रीय बैंकका अनुसार एक महिनायता बजारमा बढी भएको करिब ५२ अर्ब रुपैयाँ खिचिएको छ । तरलताको अर्को सूचक अन्तरबैंक ब्याजदर पनि शून्य दशमलव ३ प्रतिशत मात्रै छ । ट्रेजरी बिल्सको बट्टादर ० दशमलव ४८ प्रतिशत छ । रकम झिक्नु र अन्तरबैंकसँगै ट्रेजरी बिल्सको ब्याजदर एक प्रतिशतभन्दा कम हुनुले बजारमा आवश्यकभन्दा बढी तरलताको स्थिति देखाउँछ । तर, सर्वसाधारणले भने ब्याजदर घटेको अनुभूति गर्न पाएका छैनन् ।

यस्तै, विगतमा अनुत्पादक क्षेत्र भन्दै सेयर, घरजग्गा, सवारीलगायत क्षेत्रमा कर्जा प्रवाह रोकेका बैंकहरूले हाल ती क्षेत्रमा कर्जा लिन आउन आह्वान गर्नुले पनि बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त भएको पुष्टि हुन्छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले अब बिस्तारै ब्याजदर घट्नुपर्ने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । ‘दीर्घकालीन प्रकृतिका ऋण तथा निक्षेपको ब्याजदर घटेको छ,’ उनले भने, ‘अल्पकालीन प्रकृतिका कारोबारमा स्थिर छ ।’ बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदरमा आएको परिवर्तनअनुसार ब्याजदर परिमार्जन गर्नुपर्ने भएकाले कोषको लागतमा कमी आएसँगै ब्याजदर स्वत: समायोजन हुने उनको भनाइ छ । ‘ब्याजदरमा स्थिरता ल्याउन राष्ट्र बैंकले ठूलो प्रयास गरेको छ, त्यसको प्रभाव बिस्तारै देखिन्छ,’ उनले भने ।

बैंक तथा वित्तीय संस्थामा तरलता बढे पनि कोषको लागत घट्न नसकेकाले ब्याजदर घटाउने अवस्था नरहेको बैंकरहरू बताउँछन् । हाल प्राय: सबै निक्षेपको दर गत वर्षको सोही अवधिको निक्षेपको दरभन्दा दोब्बरजस्तै रहेकाले तत्कालै ब्याज घटाइहाल्न नसकिने उनीहरूको भनाइ छ ।

पछिल्ला महिनामा मुद्दती निक्षेपको ब्याजदर केही घटे पनि साधारण निक्षेपको दर स्थिरजस्तै रहेकाले कोषको लागत नघटेको बैंकर्स संघका कार्यकारी सदस्य भुवन दाहालले बताए । ‘अहिलेको अवस्था हेर्दा आउँदा केही महिना ब्याजदर घट्ने सम्भावना देखिँदैन,’ दाहालले भने, ‘किनकि केही महिना बैंकहरूको लागत घट्ने सम्भावना देखिन्न ।’

कोषको लागत नघटे पनि बैंकहरूबीच प्रतिस्पर्धा बढेकाले ब्याजदरमा केही कमी आउन थालेको ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बताए । रेमिट्यान्स वृद्धिदर घट्नुका साथै आयात उच्च दरले बढेकाले अपेक्षित रूपमा निक्षेप नबढेको उनले बताए । ‘निक्षेप नबढेपछि बैंकहरूले केही सस्तो दरमा अरू बैंकका ग्राहक तान्न लागेको देखिन्छ,’ उनले भने, ‘यसकारण पनि ब्याजदरमा कमी आउने सम्भावना छ ।’

स्ट्यान्डर्ड चार्टर्डलगायत केही बैंकहरूले त झन् आधार दरमा (बेस रेट) समायोजन भन्दै ऋणको ब्याजदर बढाइरहेका छन् । स्ट्यान्डर्ड चार्टर्डका ब्रान्ड मार्केटिङ तथा संस्थागत मामिला प्रमुख दिवाकर पौडेलले हालै बेस रेट समायोजन गरिएको बताए । ‘ब्याजदर बढाएका होइनौं, राष्ट्र बैंकको निर्देशनअनुसार बेस रेटमा प्रिमियम समायोजन गरिएको मात्रै हो,’ उनले भने । तर बलियो बैंकका रूपमा चिनिएको स्ट्यान्डर्ड चार्टर्डले गत साता घर, सवारी कर्जाका ऋणीहरूलाई पत्र पठाएर ब्याजदर बढेको सूचना दिएको थियो ।

गएको वर्ष बैंक तथा वित्तीय संस्थामा ब्याजदरको निकै उतारचढाव देखियो । उक्त अवधिमा बैंकहरूले आक्रामक ढंगले ऋण विस्तार गरेकाले वित्तीय प्रणालीमा तरलता अभाव भयो । निक्षेपभन्दा ऋणको वृद्धिदर उच्च भएपछि वित्तीय असन्तुलनको अवस्था आयो । यसकारण बैंक तथा वित्तीय संस्थाले छोटो समयमै निश्चित निक्षेप योजनाहरूमा ब्याजदर तीन गुणाले बढाए । त्यही समयमा राष्ट्र बैंकले हस्तक्षेप गर्‍यो र सबै ग्राहकलाई फाइदा हुने गरी ब्याजदर बढाउन निर्देशन दियो । उक्त निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले कल डिपोजिट र साधारण निक्षेपमा समान ब्याजदर बनाउनुपर्‍यो । त्यसले बैंक तथा वित्तीय संस्थाको लागत बढ्यो । यही बहानामा बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर पनि बढाए ।

अहिले परिस्थिति बदलिएको छ । बैंक तथा वित्तीय संस्थासँग पर्याप्त तरलता छ । तर, विगतमा केही निक्षेपमा उच्च लागत तिरेको बहानाबाजी गर्दै बैंकहरूले ब्याजदर घटाउन मानेका छैनन् । ‘हाल बैंकहरू सहज अवस्थामा छन्, तर पनि तत्कालै ब्याजदर घटाइहाल्दैनन्,’ एक बैंकरले भने, ‘किनकि उनीहरूले नाफा कमाउने भनेकै यही समयमा हो ।’ अहिले बैंकहरूले पुरानो महँगो मुद्दती निक्षेप देखाउँदै हाल ऋणको ब्याजदर निर्धारण गरिरहेको जनाउँदै ती बैंकरले भने, ‘कुल निक्षेपमा उच्च दरको निक्षेपको अंश न्यून छ, निक्षेपको ठूलो हिस्साको ब्याजदर सस्तो छ । तर पनि उनीहरूले ब्याजदर घटाउन चाहिरहेका छैनन्, किनकि यही समयमा बैंकहरू विगतको लागत परिपूर्ति गर्न लागिपरेका छन् l


(२०७४ भाद्र २१, बुधबार) ०२:५१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro