फ्रुटी सञ्चालक दुगड फरार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ भाद्र १९, सोमबार) ०१:४०

म्याद नाघेको म्यांगो पल्प (आँपको गुदी) प्रयोग गरी मानव स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) लाई जिम्मेवारीबाट हटाइएको छ ।

लाखौं उपभोक्ताको ज्यानलाई जोखिमबाट जोगाउन खोज्ने सहायक प्रजिअ प्रेमप्रसाद लुइँटेललाई उद्योगमा छापा मारेको चार दिनपछि अन्तरमन्त्रालय सरुवा गरिएको हो । म्याद नाघेको म्यांगो पल्प प्रयोग गरी गुणस्तरहीन फ्रुटी बनाउँदै गरेको गोप्य सुराकीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा भदौ १२ गते सहायक प्रजिअ लुइँटेलले दलबलसहित सतुंगलस्थित दुगड फुड एन्ड बेभरेज प्राइभेट लिमिटेडमा छापा मारेका थिए ।

पछिल्लो ६ वर्षदेखि गृह मन्त्रालयका विभिन्न तहमा रहेर काम गर्दै आएका लुइँटेललाई फ्रुटी काण्डमा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन नदिन ‘सुनियोजित’ रूपमा गृहबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पठाइएको हो । लुइँटेलले अनुसन्धान गरी कालोबजारी ऐन र मुलुकी ऐनको ठगी महलअन्तर्गत उक्त उद्योगका सञ्चालक माल्चन दुगडलाई नै अधिकतम कैद र बिगोबमोजिम जरिवाना गराउने तयारी गरेका थिए ।

स्रोतका अनुसार फ्रुटी काण्डलाई प्रभावहीन बनाएर दोषी व्यवसायीलाई उन्मुक्ति दिन लुइँटेललाई जिम्मेवारीबाट हटाएर भदौ १६ मा स्थानीय विकासमा पठाइएको थियो । यसअघि पनि उपभोक्तासम्बन्धी मुद्दामा व्यवसायीलाई उन्मुक्ति दिने नियतले व्यवसायी र राजनीतिकर्मीको मिलेमतोमा धारा तेलको मूल्य प्रकरणमा तत्कालीन प्रजिअ एकनारायण अर्याल र मिठाईमा जनावरको बोसो मिसावट प्रकरणमा तत्कालीन प्रजिअ लक्ष्मी ढकालको सरुवा गरेर मुद्दालाई प्रभावहीन बनाइएको थियो ।

एसएसपी दिवेश लोहनीका अनुसार छापा मारेको दिनदेखि उद्योग सञ्चालक दुगद फरार छन् ।

सहायक सिडिओ बजार संरक्षक अधिकृत हुने व्यवस्था छ । सोही हैसियतमा सूचनाका आधारमा उद्योगमा छापा मारेर फ्रुटीमा प्रयोग हुने म्याद नाघेको म्यांगो पल्पको चार सय २६ वटा सिल प्याक ड्रमसहित करिब डेढ लाख तयारी फ्रुटीको पोका बरामद गरिएको थियो । एक ड्रममा २ सय २३ किलो म्यांगो पल्प हुन्छ । स्रोतका अनुसार बरामद गरिएको ड्रमबाट थप ६ लाख थान फ्रुटीको पोका तयार गरी ६ करोड मूल्य बराबरको कारोबार गर्ने उद्योगले अपेक्षा गरेको थियो । छापा मारेकै दिन अनुगमन टोलीले उद्योग बन्द गराएको थियो । म्याद नाघेको कच्चा पदार्थलाई मन्द विष भनिन्छ ।

डेढ महिनाअघि म्याद नाघेको नेचुरल टोटापुरी म्यांगो पल्प छापा मार्ने क्रममा भेटिएको थियो । सन् २०१५ को जुलाईमा तयार भएको र दुई वर्ष म्याद भएको उक्त म्यांगो पल्पको प्रयोग गरी उद्योगले धमाधम फ्रुटी जुस तयार गरेर बजारमा पठाउँदै आएको थियो । लुइँटेलले पछिल्लो समय सुर्तीजन्य, मदिराजन्य, रात्रिकालीन क्लब, वेश्यावृत्ति तथा मिसावटलगायत विकृति रोक्न विशेष अप्रेसन सुरु गर्न लागेका थिए । सोही अप्रेसन क्रममा दुगडको उद्योगमा उनको टोलीले छापा मारेको थियो ।

दुई वर्षअघि पनि सोही उद्योगमा सरकारले अनुगमन गरेको थियो । स्रोतका अनुसार तत्कालीन समयमा फ्रुटीको पोका फुलेको अवस्थामा फेला पारिएको थियो । त्यो बेला पनि उद्योग बन्द गरी खाद्य ऐनअनुसार दुई हजार रुपैयाँ मात्रै जरिवाना गरेर उद्योग सञ्चालनमा ल्याइएको थियो । त्यो घटना सेलाउन नपाउँदै उक्त उद्योगले म्याद नाघेको कच्चा पदार्थ प्रयोग गर्ने गरेको घटना बाहिर आएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख तथा एसएसपी दिवेश लोहनीका अनुसार छापा मारेको दिनदेखि उद्योगका सञ्चालक माल्चन दुगड फरार छन् । छापा मारेकै दिन उद्योग परिसरबाट प्रमुख व्यवस्थापक मदनबाबु पाण्डे र म्यानेजर प्रमोद मेहतालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइए पनि सञ्चालक फरार रहेको महाशाखाले जनाएको छ ।

‘यसअघि पनि उक्त उद्योगका सञ्चालक उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै उत्पादन गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालयबाट दोषी ठहर भएका थिए,’ लोहनीले भने, ‘अहिले फेरि त्यही उद्योगमा गम्भीर त्रुटि भेटिएको छ । हामीले उद्योग सञ्चालक दुगडमाथि नै कानुनअनुसार कडा कारबाही गर्न लागेका छौं । उनी अहिले फरार छन् । उनको खोजीका लागि सुराकी परिचालन गरेका छौं । जहाँ भए पनि पक्राउ गरेर कडा कारबाही गर्छौं ।’

महाशाखाले भदौ १३ गते कालोबजारी ऐनअन्तर्गत उक्त उद्योगमाथि कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो । भदौ १४ गते उपभोक्ता हित संरक्षण मञ्चले पनि कालोबजारी ऐन र मुलुकी ऐनको ठगी महलअन्तर्गत उद्योग सञ्चालकमाथि कम्तीमा पाँच वर्ष कैदसहित ठगीको बिगोबराबर जरिवाना गराउनुपर्ने माग राख्दै प्रहरी परिसरमा जाहेरी दिएको छ ।

मञ्चका सचिव विष्णु तिमल्सिनाले भने, ‘दुगड उद्योगले पटक-पटक उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरी ठगी गरेको छ । त्यसैले तल्लो स्तरका कर्मचारीलाई होइन, सञ्चालकमाथि नै उपभोक्ता हित संरक्षण ऐन, कालोबजारी ऐन र ठगी महलअन्तर्गत कडाभन्दा कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राखेर हामीले जाहेरी दिएका छौं ।’


(२०७४ भाद्र १९, सोमबार) ०१:४० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro