जिमेल एकाउन्ट चोरी हुनबाट बच्ने उपाय

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ भाद्र १६, शुक्रबार) ०४:०८

नेपालमा धेरै व्यक्तिको जिमेल एकाउन्ट चोरिएको खबर बेला–बेलामा फेसबुक वा ट्वीटरमा लेखिएको हुन्छ । कतिपय अवस्थामा आफूसँगै बसेको व्यक्तिको ईमेलबाट ‘म क्यानडामा पुगेको थिएँ, अहिले समस्यामा परेको छु । कृपया पैसा पठाएर सहयोग गर्नुहोला’ भन्ने ईमेल आउँछ । थाहा पाउनेले सो ईमेल चोरी भएको बुझिहाल्छ । तर, कतिपय अवस्थामा लामो समय भेट नभएको साथीलाई केही समस्या प¥यो भने मद्दत गरौं भन्ने भावना जागिहाल्छ र थाहा नपाउनेले साँच्चिकै पैसा पठाउन पनि बेर लाउँदैनन् ।
यो डिजिटल संसारमा एक से एक ठूला र बुद्धिमान भनाउँदा मान्छेलाई पनि एउटा साधारण ईमेलले वा विज्ञापनले मुर्ख बनाएर उसको एकाउन्ट चोरी गरिदिन्छ र त्यसबाट पैसा झार्न कोसिस गर्छ । उसले पैसा कमाउला वा नकमाउला, तर आफूलाई भने ईमेल हराउँदा धेरै हैरानी हुन्छ ।
हाल विश्वमा जिमेलको ईमेल एकाउन्ट चलाउनेको संख्या ठ्याक्कै एक अर्ब पुगेको छ । भनिरहनु परेन, जिमेल विश्वको सबैभन्दा लोकप्रिय वेबमेल एप हो । यो एप चलाउन सजिलो र कुनै पनि प्रकारको उपकरणबाट (स्मार्ट टिभीबाट पनि) र कुनै पनि ठाउँबाट प्रयोग गर्न सकिन्छ । यो वेबमेल साधारणतया सुरक्षित नै छ, तथापि यसलाई सुरक्षित तरिकाले कसरी चलाउन सकिन्छ भन्ने विषयमा यहाँ चार उपाय बताइएको छ ।
पासवर्ड बलियो बनाऔं
यहाँको पासवर्ड के हो ? सोचियो ? राम्रो । अब बदलौं । कस्तो पासवर्ड राख्ने भनेर मनमा प्रश्न आयो ? उत्तर हाजिर छ । पहिलो उपाय, जति लामो पासवर्ड भयो, त्यति राम्रो । राम्रो पासवर्ड भनेको पढ्न मिठो हैन, अक्षर, संख्या र चिन्हसहितको अरुले पढेर पनि सम्झन नसक्ने हुनुपर्छ । चित्त बुझ्छ भने सकभर आफूले मात्र जानेको कुनै भनाइ वा वाक्यको अघिल्लो अक्षर राखेर पासवर्ड बनाउन सकिन्छ । जस्तो, मेरो बुवाले मलाई सधैं बेलुकी एकपल्ट फोन गर्नुहुन्छ भन्ने वाक्यको हरेक शब्दको पहिलो अक्षर ‘एमबीएमएसबीवानफोर’ हुन्छ । यस्तो पासवर्ड गाह्रो भए पनि आफूलाई सम्झन भने गाह्रो हुँदैन ।
सबैथोकको पासवर्ड एउटै कहिल्यै नराख्नू । जिमेलको पासवर्ट ह्याक हुँदा बैकको एकाउन्ट वा फेसबुकसमेत नउडोस् । अब जिमेलको पासवर्ड परिवर्तन गर्ने हो ? आफ्नो जिमेल खोलौं, अप्सनमा, सेटिङमा अनि एकाउन्ट्स तथा इम्पोर्ट । अब पासवर्ड परिवर्तन गर्ने ट्याबमा क्लिक गरेर काम फत्ते गरौं ।
दोहोरो प्रमाणीकरण अपनाऔं 
गुगलको दोहोरो वा दुई तहको प्रमाणीकरण अपनाउँदा अरुले खोल्न वा चोर्न नसक्ने सम्भावना हुन्छ । दोस्रो तहको प्रमाणिकरणमा प्रयोगकर्ताको लगइन नम्बर र पासवर्डबाहेक फोनमा भेरिफिकेसन (प्रमाणीकरण) कोड पठाउँछ । त्यो कोड नराखी ईमेल खुल्दैन ।
दाहोरो प्रमाणीकरणमा जाने हो भने एकाउन्ट सेटिङमा गएर ‘युजिङ टु स्टेप भेरिफिकेसन’ खोजौं । यसले एउटामात्र होइन, दोस्रो फोन नम्बर पनि माग्छ, त्यसैले एउटा हरायो भने अर्को मोबाइल वा घरको फोनमा पनि कोड आउन सक्छ । तर, नेपालको ल्यान्डलाइनमा भने म्यासेज आउने सुविधा नभएकोले सकभर दुवै अप्सन मोबाइल नम्बर दिनु बेस हुन्छ ।
एकाउन्ट अप्सन समीक्षा र अपडेट गरौंं
यदि आफ्नो पासवर्ड हरायो वा चोरियो भने रिकभरको विकल्प पनि जिमेलमा छ । हराएको पासवर्ड प्राप्त गर्न वा कसैले लगिसकेको एकाउन्ट फिर्ता पाउन मोबाइल फोन राम्रो विकल्प हुनसक्छ । हुन त अर्को ईमेलबाट एकाउन्ट रिकभर गर्न नसकिने होइन, तर मोबाइल सहज तरिका हो । गुगलका अनुसार यसरी रजिस्टर गरिएको मोबाइल नम्बर उनीहरूले विज्ञापन वा सामान बेच्ने जस्ता कुनै पनि एजेन्टलाई उपलब्ध गराउँदैनन् ।
गुगलमा रिकभरी गर्नका लागि गुगलडटकमको सेटिङ र सेक्युरिटीमा गएर ‘अपडेट रिकभरी अप्सन’मा थिचेर ‘पासवर्ड एन्ड रिकभरी अप्सन्स’ मा फोन र इमेलको सेक्युरिटी अप्सनमा थिचौं ।
अरुले मेरो ईमेल हेर्छन् कि ?
यदि आफ्नो एकाउन्ट अरु कसैले हेरेको शंका छ भने पनि आफैंले पत्ता लगाउन सकिन्छ । जिमेलमा लगइन गरेर सबैभन्दा तल जाऔं । त्यहाँ अन्तिम पटक एकाउन्टको गतिविधि भनेर अंग्रेजीमा लेखिएको हुन्छ । त्यसमा क्लिक गरेर कुन–कुन कम्प्युटरले बाहिर कहाँ–कहाँबाट लगइन गरेर आफ्नो एकाउन्ट प्रयोग गरेको रहेछ भन्ने थाहा हुन्छ । यदि आफूलाई शंका भएको ठाउँबाट ईमेल हेरेको रहेछ भने अरु कम्प्युटरबाट साइनआउट गर्ने अप्सनमा थिच्ने । त्यसपछि पासवर्ड परिवर्तन गर्ने ।
कहिलेकाहीँ जिमेलले पनि शंकास्पद लगइनको जानकारी दिन्छ । त्यस्तो म्यासेज आएको अवस्थामा पनि माथिकै जस्तो गरेर हेर्ने र पासवर्ड परिवर्तन गर्ने ।
नक्कलीदेखि सावधान
ईमेलको पासवर्ड ह्याक गर्न सधैं अनेक रूपमा अनेक थरीका म्यासेजहरू आइरहेका हुन्छन् । यस्ता म्यासेजमध्ये एकथरीले सधै तिम्रो जिमेल खतरामा छ, पासवर्ड र लगइन कन्फर्म गर भन्छ । यस्तो ईमेल खोलेर यिनले भनेजस्तो गर्नु सबैभन्दा खतरनाक कुरा हो । जिमेलले कहिले पनि पासवर्ड कन्फर्म गर भन्दैन । त्यस्तै कतिपय अवस्थामा कुनै गेम वा चिठ्ठामा सहभागिताको निमन्त्रणा आउँछ । यस्तो वेबसाइटले नयाँ लगइन नाम र पासवर्ड राख्नु भन्छ । यस्तो वेबसाइटमा बिर्सेर पनि जिमेलको पासवर्ड नराख्नू । तिनले सो पासवर्ड हेरेर सहजै चोर्न सक्छन् । त्यसैले यस्तो उपहार वा चिठ्ठाका विषयमा सजग हुनुपर्छ । यहाँको पासवर्डका लागि ह्याकरले अनेक जाल थापेका हुन्छन् । डिजिटल संसारमा सजग बसेन भने सबैथोक सकिँदा पनि आफूलाई केही थाहा हुँदैन ।
(यूएसए टुडेको अनलाइन संस्करणमा प्रकाशित समाचारको आधारमा)

(२०७४ भाद्र १६, शुक्रबार) ०४:०८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro