पोखरा यातायात कार्यालकी कर्मचारीले सेवाग्राहीलाई थर्काएपछि…

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ भाद्र ७, बुधबार) १३:३९

सन्देश श्रेष्ठ, पोखरा, ७ भदौ । मगंलबार कार्यालय पूर्वाह्न १० बजे खुल्ने भएपनि सेवाग्राही विहान ८ बजे नै पुगेका थिए । लाईन बसेको साढे २ घण्टा पछि बल्ल कार्यालय खुल्यो, तर सेवा सञ्चालन भएन । सेवाग्राही लाइनमा बसेको धेरै समय भईसक्दा पनि लाईन नसरेपछि सेवाग्राही आफैले कर्मचारीको चियोचर्चो गर्न थाले । त्यहि मेसोमा बिचौलियासँगको मिलेमतोमा कर्मचारीले भित्रभित्रै काम गरिरहेको सेवाग्राहीले चाल पाए ।

यो देख्ने वित्तिकै सेवाग्राहीले विरोध शुरु गरेपछि केहीबेर होहल्ला र विरोध भएपछि त्यहिंकी एक कर्मचारी रिसाउँदै सेवाग्राहीलाई थर्काउन थालिन् । यो मंगलबार यातायात ब्यबस्था कार्यालय सवारी चालक अनुमति पत्र गण्डकी, पोखराको दृश्य हो । यसरी थर्काउने कर्मचारी हुन् करारमा नियुक्त भएकी शिला कुवँर ।

लाईसेन्सको समयअवधी थप गर्न र नयाँ लाईसेन्स बनाउन पुगेकालाई कुवँरले थर्काएपछि सेवाग्राहीले थप विरोध गर्न थाले । उनीहरुले झर्केर नबोल्न आग्रह गर्दा उनले उल्टै आफ्नो हातमा रहेको फर्म कच्याककुच्चुक पार्दै फ्यात्त भुईंमा फालिन् । तत्कालै सेवाग्राहीले प्रतिवाद गर्दै होहल्ला शुरु गरे । त्यसपछि निमित्त कार्यालय प्रमुख सुन्दर शर्मा आए र सेवाग्राहीलाई सम्झाए । त्यसपछि मात्र काम शुरु भयो र सेवाग्राही पनि शान्त बने ।

यो प्रतिनीधि घट्ना मात्र हो । यातायात ब्यबस्था कार्यालय, सवारी चालक अनुमति पत्र गण्डकी पोखरामा यस्ता लफडा बारम्बार हुनेगरेको गुनासो सुनिन्छ । त्यहाँको भद्रगोल ब्यबस्थापनका कारण आफूहरुले समयमा सेवा पाउन नसकेको सेवाग्राहीको आरोप छ । सेवाग्राही बनेर पुगेका पोखरा जिरोकिलोमिटरका सुमन गौतमले कर्मचारीले आफूहरुलाई हेपेर काम नै नगर्दिएको गुनासो गरे । काम गरिदिन आग्रह गर्दा उल्टै थर्काएको र पछि पुनः छिटो काम गर्न दवाब दिदा कार्यालयको राजस्व शाखा नै बन्द गरेर काम गर्दिन के गर्छौ भन्दै हिंडेको उनले गुनासो गरे ।

घट्नापछि पत्रकारसँग कुरा गर्दै निमित्त कार्यालय प्रमुख शर्माले कर्मचारी शिलाको बचाउ गर्दै भने,‘सेवाग्राही मध्येकै केही उच्छृंखल स्वाभावकाहरुले बाहिर अश्लिल शब्द प्रयोग गर्दै गालीगलौज गरेपछि शिला अस्वाभाविक रुपमा प्रस्तुत भएकी हुन् ।’ यद्वपी उनलाई आफूले सम्झाएर आइन्दा नदोहो¥याउन सचेत गराएको शर्माको भनाई छ । उनले आफूलाई पनि बिचौलियाको सेटिङमा काम गरेको गुनासो आएपछि कर्मचारीलाई सम्झाएको बताए । उनले यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् । कुवँरले भने अपशब्द सुनेर आफू रिसाएको प्रतिक्रिया दिएकी छन् ।

शर्माले स्मार्ट लाईसेन्स बनाउन तालिम नदिई कर्मचारी खटाउँदा समस्या बढेको पनि गुनासो गरे । कर्मचारीलाई तालिम नै नदिई स्मार्ट लाईसेन्स खुलाइयो–उनले भने,‘तालिम नलिएका कर्मचारीलाई एकैपटक सबै विवरण भर्दा कहिले के नमिल्ने त कहिले प्राविधिक समस्या आउने गरेको छ, यसले काममा बाधा पार्दा सेवाग्राहीले पनि झञ्झट बेहोर्नुपरेको छ ।’ उनले कार्यालयमा कर्मचारी अभाव भएको पनि बताए । ३ जना एकाउण्टेण्टको दरबन्दी भएपनि हाल एकजना मात्र हुँदा काममा ढिलाई भएको उनको दाबी छ । एक जना एकाउण्टेन्टले हालसालै राजिनामा दिएको, अर्का एकजना तालिममा गएको र एक जना मात्र कार्यालयमा हुँदा काममा त्यसको असर देखिएको उनले जिकिर गरे ।

त्यस्तै, कार्यालय प्रमुख किर्तनराज पौडेल कार्यालयकै कामको शिलशिलामा चीन भ्रमणमा रहेको र एक अधिकृत तालिममा जाँदा पनि आफूहरुलाई कामको चाप परेको उनको भनाई छ । यसमा सरकारले नै तालिम प्राप्त कर्मचारी पर्याप्त मात्रामा उपलब्ध गराएमात्र सहज रुपमा सेवाग्राहीले सेवा पाउने उनले बताए । अहिले पूर्वाधार बिना नै स्मार्ट लाईसेन्स वितरण गर्दा बढी गुनासो आएको पनि जिकिर गरे । उनले कार्यालयको सेवा चुस्त बनाउने हो भने कर्मचारी थप्नुपर्ने र त्यसका लागि सबैले दवाब दिनुपर्नेमा जोड दिए ।
-गन्थनबाट साभार


(२०७४ भाद्र ७, बुधबार) १३:३९ मा प्रकाशित

Exchange Rate

Nepali Patro