पोखरामा नक्कली विद्यार्थी परिचयपत्रबाट छूट लिनेकाे बिगबिगी

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ भाद्र ४, आईतवार) १०:२८

गाेविन्द सुवेदी,४ भदौ/ किर्ते गरी बनाइएका विद्यार्थी परिचयपत्रको बिगबिगी पोखरामा धेरै नै देखिएको छ ।

विद्यार्थी परिचयपत्रका आधारमा सार्वजनिक यातायातमा छुट पाउने लोभमा यस्तो किर्तेकार्ड बन्ने गरेको हो । पोखरामा सञ्चालित नगर बसमा यस्ता किर्ते गरेर बनाइएका कार्डधारी यात्रुले विद्यार्थीले पाउने छुट माग्ने गरेका पाइएको समाधानले लेखेको छ।

बस व्यवसायी समितिमार्फत सञ्चालित बसका एक सहचालकले कार्ड देखाउने यात्रुमध्ये झन्डै ५० प्रतिशतको हाराहारीमा यस्ता यात्री रहेको दाबी गरे । कतिपय अवस्थामा आफूहरुले यस्ता कार्ड जफत नै गरिदिएको उनले सुनाए । ‘अति नै गर्छन्, नसुहाउँदो उमेरका मानिसहरु विद्यार्थी परिचयपत्र देखाउँछन्, कहिलेकाहीँ त्यस्ता कार्डलाई नियन्त्रणमा लिएर वास्तविकता खोज्दा नक्कली प्रमाणित भएका छन्,’ उनले भने ।

बस व्यवसायी समितिका अनुसार किर्तेगरेर बनाइएका यस्ता झन्डै ६ हजार कार्ड अझै पनि समितिको कार्यालयमा सुरक्षित छन् । यस्ता हजारौं कार्ड आफूहरुले फालिदिएको पोखरा बस व्यवसायी समितिका सचिव अमृत तिमिल्सिनाले बताए ।

ट्याक्सी व्यवसायी समिति पोखराले सञ्चालन गरेका ७२ माइक्रो बसमध्य २ बसमामात्र ६ महिनामा हजारभन्दा बढ्ता यस्ता कार्ड भेटिएका समितिका वरिष्ठ उपाध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए ।

‘नक्कली परिचयपत्र छुट्याउन सामान्य सहचालकले नसक्दोरहेछ,’ उनले भने, ‘हाम्रा २ सहचालकले आफूले काम गर्ने बसमा यस्तो कार्ड जफत गर्छन्, उनीहरुले शंका गरेर ल्याएकामध्ये अहिलेसम्म २ जनाको मात्र सक्कली पाइयो, अरु सम्बन्धित कलेजमा पुगेर चेक गर्दा नक्कली पाइए ।’

विद्यार्थीका नाममा किर्तेकार्डमार्फत अन्यले फाइदा लिँदा आन्दोलन गरेर अधिकार स्थापित गर्ने विद्यार्थी संगठन भने थाहा नपाएजसरी बसेका छन् ।विद्यार्थीका लागि यातायातमा मात्र होइन, अन्य क्षेत्रमा पनि विभिन्न छुटको व्यवस्था हुन्छ ।

त्यो मेला महोत्सव वा अन्य कुनै अवलोकनको विषय किन नहोस् । अध्ययन गर्ने विद्यार्थीसँग खर्च गर्ने रकमको जोहो नहुन सक्छ ।उनीहरुलाई सहुलियत दिन यस्तो सुविधा ल्याइएको हो । यसैका लागि सरकारले बस व्यवसायी लगायत यस्ता संघसंस्थालाई सहुलियत दिएको छ ।

विद्यार्थी अध्ययन गर्ने सम्बन्धित विद्यालय र क्याम्पसले मात्र यस्तो परिचयपत्र दिन पाउँछन् । तर यस्ता कार्ड सहरका चोकचोकमा रहेका धेरैजसो कार्ड सम्बन्धी काम गर्ने पसलमा सहज पाइने यस्तो कार्ड लिएकैएक यात्रुले बताए । उनका अनुसार ती पसलेले यस्तो कार्ड बनाएबापत १ सय रुपैयाँदेखि १ हजारसम्म लिने गरेकाछन् ।

नाम नबताउने र आफूलाई अप्ठेरो नपार्ने सर्तमा ती यात्रुले भने, ‘तपाईं जानुभयो भने अहिलेको अहिल्यै सहजै यस्तो कार्ड बन्छ, त्यसका लागि चिनेको भए १ सय र नचिनेको भए १ हजारसम्म लिन सक्छन् ।’उनका अनुसार त्यस्ता पसलमा कुन क्याम्पस या विद्यालयको कार्ड बनाउने हो उसको सबै फर्मेट हुन्छ । त्यसमा फोटो खिचेर सहजै प्रिन्ट गरेर निकालिन्छ ।

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मि आचार्यले यही बिगबिगी रोक्न त्रिभुवन विश्वविद्यालय र सम्बन्धनप्राप्त क्याम्पसहरुमा डिजिटल कार्ड र त्यसमा होलोग्रामको व्यवस्था गर्न आफूहरुले माग गरेको बताए । यस्तो कार्ड बनाइदिने र बोक्ने दुबैलाई प्रशासनले कारबाही गर्नुपर्ने उनको भनाइ छ । ‘यो सरासर किर्तेहो,’ उनले भने, ‘यस्तो बनाउने र बोक्ने दुबैलाई कारबाही हुनुपर्छ, यसमा हाम्रो पनि साथ रहन्छ ।’

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले नक्कली परिचयपत्र बनाउने र त्यसैका आधारमा सुविधा लिन खोजिएको हो भने त्यो किर्तेहुने बताए । उनले त्यस्तो भएउजुरी दिन व्यवसायीलाई आग्रह गरे । आफूहरु यस्तो विषयमा गम्भीर रहेको भन्दै व्यवसायीप्रति भने उनलेशंका व्यक्त गरेका छन् ।

‘किर्ते काम भएको छ भने कारबाही गरिनुपर्छ, त्यसमा उहाँहरुसँग उपभोक्ता मञ्चसमेत साथमा छ, त्यसविपरीत अहिले अनुगमनलाई प्रभावित गराउन खोजिएको हो भने छुट्टै कुरा हो ।’ जतिबेला किर्तेकार्ड भेटिन्छ, त्यतिबेलै किर्तेगरेकामा उजुरी दर्ता गर्नुपर्ने उनको भनाइ छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीले त्यस्तो छ भने तत्काल उजुरी गर्न व्यसायीलाई आग्रह गरे । ‘त्यस्तो हो भने किर्ते अभियोगमा जेल सजायसम्म हुन सक्छ, उजुरी गर्नुहोस् तुरुन्त प्रहरीले समातेर आफैं मुद्दा चालउँछ,’ उनले भने ।
….
ट्याक्सी व्यवसायी समितिले आफ्नो समितिले चलाएका माइक्रोमा भेटिएका नक्कली भनिएका कार्ड । समितिले यी कार्डहरु सम्बन्धित क्याम्पसमा पुगेर भेरिफाइ गर्दा नक्कली प्रमाणित भएको दाबी गरेको छ ।


(२०७४ भाद्र ४, आईतवार) १०:२८ मा प्रकाशित

Exchange Rate

Nepali Patro