संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ जेष्ठ १४, आईतवार) ०८:०२

  • आकाश महर्जन
अपोलो १३ मिसन प्रक्षेपण गर्ने क्रममा

आजभन्दा ४७ वर्ष अगाडि तीनजना अमेरिकी अन्तरिक्ष यात्रीहरु चन्द्रमाको यात्रा गर्दै थिए । तर, उनीहरुको यात्रा एक भयानक दुर्घटनामा पर्ने वाला थियो ।

सन् १९७० को अप्रिल १४ । अपोलो १३ पृथ्वीभन्दा ३ लाख २० हजार किलोमिटर टाढा थियो, चन्द्रमाको यात्रा गरिरहेको । अन्तरिक्ष यात्रीहरु फ्रेड हेज, ज्याक स्वाइगर्ट र जिम लोवल आफू चढेको अन्तरिक्ष यानमा नियमित चेकहरु गरिरहेका थिए, तालिका अनुसारका प्रक्रियाहरु गरिरहेका थिए ।

अचानक, एक विष्फोटनको आवाज सुनियो । फ्रेड हेज आफ्नो स्टेसनमा दौडिए ।

विष्फोटले सर्भिस मोड्युललाई पुर्याएको क्षति ।

फ्रेड हेज भन्छन्, ‘ठूलो आवाज सुनियो । म यानको कमान्ड मोड्युलमा आउन टनेलभित्र छिरिरहँदा फलामहरु ठोक्किएको आवाज आइरहेको थियो ।’

कमान्डर जिम लोवलले सीधै अमेरिकाको ह्युस्टन अवस्थित मिसन कन्ट्रोलमा खबर गरे, ‘ह्युस्टन, एउटा समस्या आइपरेको छ ।’

अपोलो १३ क्रू, बायाँबाट क्रमशः फ्रेड हेज , ज्याक स्वाइगर्ट र कमाण्डर जिम लोवल ।

‘सबैभन्दा ठूलो कुरा भनेको त्यहाँ उत्पन्न द्विविधा थियो ।’ हेज सम्झन्छन् । ‘खास के भएको हो भन्ने कुरा थाहा पाउन हामी कोसिस गरिरहेका थियौँ । म आफ्नो ठाउँमा आएँ र मापन यन्त्रहरुमा हेरेँ । सम्पूर्ण मापन यन्त्रहरुको अध्ययन गर्दा थाहा पायौँ कि हामीले एउटा अक्सिजन ट्याङ्क गुमायौँ । तत्काल मलाई असजिलो महसुस भयो, किनकी हामीले चन्द्रमामा पाइला टेक्ने अवसर गुमाइसकेका थियौँ ।’

टोलीले चन्द्रमामा पाइला टेक्ने अवसर मात्र गुमाएका थिएनन् । विष्फोटले यानलाई नै क्षति पुगेको थियो । यानको विद्युतीय प्रणालीमा पनि असर परेको थियो । यहाँ पृथ्वीमा मिसन कन्ट्रोलमा काम गरिरहेका वैज्ञानिकहरु तथा अन्तरिक्ष यात्रीत्रयलाई नै पनि अबको चुनौति भनेको पृथ्वीमा सुरक्षित रुपमा कसरी फर्कने भन्ने थियो ।

लुनार मोड्युल

अपोलो १३ तीन वटा भागहरु मिलेर बनेको थियो, क्षतिग्रस्त सर्भिस मोड्युल, पृथ्वीमा फर्किनको लागि निर्माण गरिएको कमान्ड मोड्युल र चन्द्रमामा अवतरण गर्न निर्माण गरिएको लुनार मोड्युल । अब अपोलो १३ टोलीले लुनार मोड्युललाई ‘लाइफबोट’को रुपमा प्रयोग गर्नु थियो । तर, सबैभन्दा ठूलो चुनौति के थियो भने लुनार मोड्युललाई २ दिन मात्र काम गर्न मिल्ने हिसाबले निर्माण गरिएको थियो । र, यो निकै कमजोर र हलुको थियो ।

फ्रेड हेजका अनुसार उनीहरुले मिसनभन्दा अगाडि प्राप्त गरेको प्रशिक्षण र मिसनका दौरान उनीहरुले देखाएको व्यवहार सम्पूर्ण मिसनको सबैभन्दा मूल्यवान सम्पत्ति हुनपुग्यो । तीनै जना अन्तरिक्ष यात्रीहरु दक्ष थिए । र जिम लोवल नासाको सबैभन्दा अनुभवी अन्तरिक्षयात्री थिए ।

‘जिम त्यहाँ हामीसित हुनु निकै ठूलो कुरा थियो ।’ हेज भन्छन् । ‘उनीसित यस्तो अवस्थाको सामना गर्नको लागि उपयुक्त व्यक्तित्व थियो । ख्याल–ठट्टा गर्ने, नरिसाउने र चाँडै हैरान नहुने । हामी आ–आफ्नै क्षेत्रका विशेषज्ञहरु थियौँ । मैले लुनार मोड्युल निर्माण गरेको र टेस्ट गरेको प्लान्टमा ७ महिना बिताएको थिएँ । ज्याक स्वाइगर्टले पनि कमान्ड मोड्युल र सर्भिस मोड्युलमा आपत्कालिन अवस्थाहरुमा के गर्ने भन्ने प्रकृयाहरुको विकासमा सहयोग गरेका थिए ।’

पृथ्वीमा मिसन कन्ट्रोलमा काम गर्दै वैज्ञानिकहरु । बीचमा मिसनका फ्लाइट डिरेक्टर जिन क्रान्ज ।

पृथ्वीमा फर्कनको लागि अपोलो १३ टोलीलाई चन्द्रमाको गुरुत्वको प्रयोग गर्नु थियो । सीधै फर्किनको लागि पर्याप्त इन्धन नभएकोले चन्द्रमाको गुरुत्वलाई प्रयोग गरी यानलाई पृथ्वीतिर हुत्याउने योजना बनेको थियो । उनीहरुले पृथ्वीबाट नदेखिने चन्द्रमाको अर्को अनुहारलाई फन्को मारेर आउनु थियो ।

‘चन्द्रमाको नदेखिने भाग अलि भिन्न छ ।’ हेज भन्छन् । ‘त्यहाँ खासगरी ठूल्ठूला उजाड पहाडहरु छन् । थुप्रै क्रेटरहरु छन् । ठूल्ठूला चट्टानहरु पनि । त्यहाँबाट हामीले चन्द्रमालाई हेर्दा उजाड थियो, रङ्गहीन उजाड मरुभूमि जस्तो । रङ्गको नाममा खैरो, कालो र सेतो मात्र । निकै चिसो र उराठलाग्दो ठाउँजस्तो देखिन्थ्यो ।’

पृथ्वीतिर फर्किरहेको अपोलो १३ पृथ्वीबाट अझै १२ लाख किलोमिटर टाढा थियो । र यानभित्रको अवस्था निकै गाह्रो थियो ।

‘हामी पृथ्वीमा फर्कन सक्छौँ कि सक्दैनौँ भन्ने कुरा प्रमुख थियो ।’ हेज भन्छन् । ‘यानभित्रको तापक्रम कम हुँदै गइरहेको थियो । माइनस १ डिग्री पुगिसकेको थियो । र हामीसित त्यस्तो अवस्थामा लगाउनको लागि लुगाहरु थिएन । कमभन्दा कम विद्युत प्रयोग गर्नुपर्ने भएकोले तापक्रम कायम गर्ने अवस्था पनि थिएन । त्यस्तो अवस्था भएको कारण त्यति लामो समयसम्म सुत्न पनि पाएका थिएनौँ । निकै थकित थियौँ । र त्यस्तो वातावरणमा घण्टौँ बस्नु भनेको, निकै गाह्रो थियो ।’

अन्तरिक्ष यात्रीत्रयले लुनार मोड्युललाई लाइफबोटको रुपमा प्रयोग गर्दा त्यहाँभित्र सास फेर्दा उत्पादन हुने कार्बनडाइअक्साइड ग्यास फिल्टर गर्न लुनार मोड्युलभित्रै उपलब्ध सामग्रीहरुको प्रयोग गरेर बनाएको ‘मेल बक्स’ ।

निकै चिसो, थकित र बेनिद्रा । कुनै कम्प्युटरको निर्देशन बिना अपोलो १३ टोली अन्तरिक्षमा यात्रा गर्दै थियो, लगातार २ दिनसम्म । हावा रिसाइकल गर्ने प्रणाली पनि बन्द गरिएको कारण यानभित्र कार्बनडाइअक्साइडको मात्रा बिस्तारै बढ्दै थियो । कार्बनडाइअक्साइडको कारण निस्सासिने जोखिमबाट बच्नको लागि उनीहरुले अन्तरिक्ष यानमा उपलब्ध सरसामानहरुको प्रयोग गरेर हावा फिल्टर गर्ने यन्त्र बनाउनु थियो । यान भित्रका अन्तरिक्ष यात्रीहरुले कार्डबोर्ड, टेप र मोजासमेतको प्रयोगबाट हावा छान्ने फिल्टर बनाएर यानभित्रको हावालाई सास फेर्न योग्य बनाइराखे ।

अबको चुनौति भनेको यानलाई पृथ्वीतिर फर्काई सही दिसा दिनु थियो । थोरै मात्र गल्ती भएको खण्डमा पनि पृथ्वीको गुरुत्वाकर्षणले यानलाई कि त पृथ्वीको कक्षबाहिर अनन्त अन्तरिक्षमा हुत्याइदिन्थ्यो, कि त सीधै पृथ्वीको वायुमण्डलमा ठोक्किन्थ्यो ।

‘फर्किंदा हामीले दुईटा प्रमुख कार्यहरु गर्यौँ ।’ हेज भन्छन् । ‘हामीले दुईपटक यानलाई सही दिसा दिने काम गर्यौँ । हामीले त्यो कार्य कम्प्युटरबिना नै गर्यौँ; पूर्ण रुपमा म्यानुयल । जिमले पृथ्वीतिरको झ्यालमा हेरेर यानको दिसा मिलाइरहेको थियो भने म सूर्यपट्टिको झ्यालमा हेरेर दिसा बताइरहेको थिएँ ।’

यानलाई सही दिसा त दिइयो । तर चुनौती त्यतिकैमा समाप्त हुँदैन । अबको चुनौति थियो पृथ्वीको वायुमण्डलमा प्रवेशको । जिम लोवल, ज्याक स्वाइगर्ट र फ्रेड हेज अब आफ्नो यात्राको अन्तिम चरणमा आइसकेका थिए । तर, यही चरण सबैभन्दा खतरनाक थियो । उनीहरुको यान पृथ्वीको वायुमण्डलमा अविश्वसनीय गतिमा प्रवेश गरिरहेको थियो । र, वायुमण्डलसितको घर्षणका कारण यानको तापक्रम निकै बढेको थियो, ईंटाभट्टाभित्रको तापक्रम जस्तो । उनीहरुको गन्तव्य थियो, मध्य प्रशान्त महासागर ।

पृथ्वीमा ओर्लिएफछि अन्तरिक्ष यात्रीहरू फ्रेड हेज (बायाँ), जिम लोवल (बीचमा) र ज्याक स्वाइगर्ट (दायाँ)

‘यानभित्रबाट पछाडि हेर्दा यान र हावाबीचको घर्षणको कारण उत्पन्न आगोको मुस्लो देख्न सकिन्थ्यो ।’ हेज भन्छन् । ‘जति–जति पृथ्वीभित्र छिर्थ्यौँ , त्यति–त्यति तापक्रम बढ्थ्यो र त्यसैले आगोको चम्काहट पनि । र, पृथ्वीको सतहबाट ६० हजार फिट माथिसम्म आइपुग्दा बल्ल यानको अवस्था स्थीर भएको थियो । अब प्याराशुट निकाल्नु थियो । पक्कै पनि त्यतिबेला तीनवटै प्याराशुटहरु खोलिएका थिए । जब ती प्याराशुटहरु खोलिए, तब मात्र हामीले घर पुगेको महसुस गर्यौँ ।’

नासाको अपोलो १३ मिसन निकै चर्चित बन्न पुग्यो । यसलाई सफल रुपमा विफल भएको मिसनको रुपमा चिनिन्छ । तीनै अन्तरिक्ष यात्रीहरु त्यसपछि कहिल्यै अन्तरिक्षमा गएनन् ।

बीबीसीले फ्रेड हेजलाई लिएको अन्तरवार्तामा आधारित


(२०७४ जेष्ठ १४, आईतवार) ०८:०२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro