मापदण्ड मिचेर पाँचतारे होटेल : ‘हचुवामा’ नक्सापास

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ फाल्गुन २२, आईतवार) ०१:२६

जगदम्बा हस्पिटालिटीको नक्सालमा निर्माणाधीन डबल ट्री हिल्टन होटेलको नक्सापास काठमाडौं महानगरपालिकाले हचुवाको भरमा गरेको खुलेको छ । नक्सापासअघि फिल्डमा गई स्थानीयको रोहवरमा स्वीकृति र होटेल स्थापना गर्दा हुन सक्ने क्षतिको आँकलनसमेत नगरी महानगरपालिकाले १७ जेठमै नक्सापास गरेको पाइएको छ ।

अख्तियारसँगै संसद्को अनुगमन तथा सुशासन समितिले समेत हिल्टन होटेलको बदमासीबारे उपसमिति बनाई छानबिन सुरु गरेको छ । हिल्टनको नक्सापासमा ठूलो रकम चलखेल भएको महानगरपालिकाका केही कर्मचारीको आरोप छ ।

मापदण्डविपरीतको निर्माण कार्य तुरुन्त बन्द गर्न र पीडित स्थानीयलाई क्षतिपूर्ति दिलाउन भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले २७ पुसमा महानगरपालिकालाई पत्र पठाएको थियो । महानगरपालिकाले पनि नगर प्रहरीलाई मापदण्डविपरीत बनेको भवन निर्माण यथाशीघ्र बन्द गर्न निर्देशन दिएको थियो । नक्सापास गर्ने महानगरपालिका आफैंले जिल्ला प्रशासनको पत्रपछि निर्माण कार्य रोक्न निर्देशन दिए पनि हिल्टनले निर्माण कार्य रोकेको छैन ।

प्राधिकरणको इजाजतबाट ब्युँतिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले १६ भदौ ०७२ मा होटेलको ‘प्लानिङ परमिट’ दिएको आधारमा महानगरपालिकाले ०७३ पुस २७ गते हिल्टन होटेलको नक्सापास प्रक्रिया अगाडि बढाएको पाइएको छ । तर, महानगरले १९ जेठमै डीपीसी लेवल (प्लिन्थ लेवल) सम्म निर्माण इजाजत दिइसकेको थियो । होटेल निर्माण गर्दा महानगरले विभिन्न सर्त राखेकामा सुरुमा हस्पिटालिटीले मन्जुर गरे पनि व्यवहारमा त्यो पालना गरेको छैन । सर्तअनुसार निर्माण गर्दा स्थानीय व्यक्ति, छरछिमेक तथा पैदलयात्रुलाई बाधा-अड्चन नहुने गरी सुरक्षित तरिकाले भवन निर्माण गर्न भनिएको थियो । पटक-पटकको विरोधपछि अख्तियार फिल्डमा हिल्टन होटेल निर्माणका लागि जमिन खोतल्दादेखि नै अख्तियारमा उजुरी परेको थियो ।

नक्सापास गर्ने महानगरपालिका आफैंले जिल्ला प्रशासनको पत्रपछि निर्माण कार्य रोक्न निर्देशन दिए पनि हिल्टनले निर्माण कार्य रोकेको छैन ।

महानगरपालिकाले अख्तियारलाई खुलाई पठाएको पत्रले यसको पुष्टि गरेको छ । अख्तियारले भदौ ७ मै महानगरपालिकालाई पत्र लेख्दै होटेल निर्माण गर्दा स्वीकृति लिए/नलिएको, नक्सापास भए/नभएको, नक्सापास गर्दा कुन सर्त पूरा गरेको, सर्त पालना भए/नभएको भन्दै १० दिनभित्र जवाफ मागेको थियो । महानगरले २९ कात्तिकमा अख्तियारलाई हिल्टन होटेल निर्माणको नक्सापासलगायत विषयमा खुलाएर पत्र पठाएको थियो । सुरुको जवाफपछि चुप लागेर बसेको अख्तियारले पटकपटकको विरोध र हिल्टनको बद्मासी सार्वजनिक भएपछि माघ अन्तिममा फिल्ड अनुगमन गरी कागजात नियन्त्रणमा लिएको हो । फुटपाथमा हिँड्न नमिल्ने गरी भत्काइएपछि पीडितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत उजुरी दिएका थिए ।

ग्रान्ड होटेलका मालिक रामअवतार गोयलले आफू लामो समयदेखि निर्माणाधीन होटेल नजिकै बस्दै आएको र उच्च रक्तचापको औषधि सेवन गर्ने हुँदा आरामको आवश्यकता भए पनि होटेल निर्माणका क्रममा हेभी साधन सञ्चालनले बस्न गाह्रो भएको भन्दै हिल्टनको निर्माण कार्य रोक्न महानगरपालिकालाई गुहारेका छन् । हिल्टनले भने महानगरपालिकाकै कर्मचारीको मिलेमतोमा निर्माण सुचारु गर्दै आएको छ ।

काम नरोकिएपछि गोयलले १० माघमा अर्को निवेदन महानगरपालिकामा दिएका थिए । निवेदनमा उनले प्राविधिक खटाई निरीक्षण गरी जिउधनको क्षतिपूर्ति दिलाई दोषीमाथि कारबाही माग गरेका थिए । महानगरपालिकाले कानुन महाशाखालाई भवन निर्माण इजाजत विभागसहितको टोली खटाएर पीडितलाई छलफलमा बोलाई क्षतिपूर्ति दिलाउन निर्देशन दिएको थियो । इन्जिनियर वीरबहादुर खड्का र कुन्दन श्रेष्ठ क्षतिपूर्ति मूल्यांकन टोलीमा थिए । तर, यसमाथि कुनै सम्बोधन भएन ।


(२०७३ फाल्गुन २२, आईतवार) ०१:२६ मा प्रकाशित

Exchange Rate

Nepali Patro