ट्याक्सास र न्यूयोर्कका केही प्रतिध्वनिहरु

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ फाल्गुन १९, बिहीबार) ०१:०९

अमेरिका भ्रमणको नाममा कोलोराडो आएर यतै सीमित रहनुको अर्थ थिएन । त्यसैले अन्य राज्यहरुको भ्रमणको लालसा संगाले कै थिएँ । संयोगले जनवरी १४ मा एन आर एन.ए.को पाचौं साधारण सभा डलास ट्याक्ससमा हुने कुरा मेरा पुराना मित्र हरिलाल खनाल पुत्र, तन्नेरी साथी परमानन्द खनालबाट सुनेर खुशी लाग्यो । साथै सो कार्यक्रमको पूर्व सन्ध्यामा ने.का. जन सम्मर्क समिति अमेरिकाको आयोजनामा रात्रि भोजको आयोजना हुने पनि उहाँबाटै सुनेको थिएँ परराष्ट्र मन्त्री प्रकाश शरण महतको स्वागतमा ।

कोलोराडोको डेनवरबाट डलास ट्याक्सस प्लेनमा २ घण्टाको यात्रामा एयरपोर्टमा लिन आउने साथीको खोजीमा थिएँ । संयोगले जनता मा. वि. मुनुवा, कैलाली (२०२४–२०३६) मा अध्यापनरत हुँदा तत्कालीन प्र. अ. खेमराज पाण्डे पूर्व मेयर ध.न.पा. पनि डी.भी. परेर त्यही आउनु भएकोले सम्पर्क भयो । मेरो आग्रहमा उहाँ आफ्नो छोरी स्मारिका र ज्वाईं प्रतीक सापकोटासंग सहयोगार्थ मलाई लिन एयरपोर्ट आउनु भयो । उहाँले मलाइ गेट नं कुन हो भन्नु भएको थियो । तर बोर्डिङ पासमा चढ्ने ठाउँको गेट नं हुन्छ । त्यसैले मैले त्यही नं भने । एयरपोर्ट ओर्लदा थाहा नपाएर म अर्कै गेट नं बाट बाहिरिएर आएँ । यसले गर्दा वहाँले एयरपोर्टमा बढी चक्कर लगाउनु पर्‍यो । मैले पनि बढी कुर्नु पर्‍यो । यो एउटा नवीन कटु अनुभव थियो ।

भोली पल्ट मेरा मित्र पूर्व मंन्त्री बलदेव मजगैंया कहाँ बसाई भएकोले उहाँ आफ्नो पुत्र समीरसंग मलाई लिन आउनु भएको थियो । सोही दिन साँझ कैलाली धनगढी ने.वि.संघका पूर्व अध्यक्ष अनिल ओझाको गाडीमा खनालीजी संग भोज आयोजना स्थल इरविनमा विलम्बले पुग्यौं । यो एउटा नेपालीको होटल थियो । प्रमुख अतिथि आफ्नो मन्तब्य प्रकट गरि हिडी सकेका थिए । केही तन्नेरी सहभागीहरु एउटा कुनामा साँस्कृतिक कार्यक्रममा मग्न थिए । अन्य सहभागीहरु डिनरको आनन्दमा व्यस्त देखिन्थे । अमेरिकामा पनि नेपालीपनको मौलिकता थियो । यसै कार्यक्रममा धेरै परिचित साथीहरुसंंग मैले सोचे अनुसार भेट भयो । तर दुखको कुरा कतिपयलाई ठम्याउन नसक्दा लज्जा बोध स्वभाविक थियो । ने.का. सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, कंचनपुर आइ.वी.आर.डी. का सर्बग्य वाग्ले, नेपालगंजकी उमा कार्की तथा लमजुङ, पोखरा, नुवाकोट, चितवन, विराटनगर लगायतका धेरै जिल्लाका साथीहरुसंग भेट भयो ।

दोश्रो दिन इरविनको एउटा अडोटोरियम हलमा डा. केशव पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि पर-राष्ट्र मन्त्री प्रकाश शरण महत सहित ने.का.के.स. कल्याण गुरुङ, अमेरिकाको लागि नेपालको राजदुत डा. अर्जुन कार्की, डलासको लागि अमेरिकी महिला मेयर लगायत धेरै सहभागीहरुले शुभकामना व्यक्त गरेका थिए । मन्तव्यमा प्रवासमा बस्ने नेपालीहरुको सकारात्मक सोचका साथै नेपालको विकासका लागि सहयोग गर्नु पर्ने थियो । विगतमा एन.आर.एन.ए.ले नेपालमा भएको विनाशकारी भूकम्प पिडितहरुलाई सहयोग गरेको चर्चा पनि गरिएको थियो । तर एन.आर.एन.ए. को बन्द सत्रको उपस्थिति नेपालमा हुने बन्द सत्र जस्तै निराशाजनक थियो । उद्घाटन कार्यक्रमको विचमा नेपाली बालिका द्वयको युगल नृत्यको प्रस्तुति प्रशंसनीय थियो । तर पूर्व मन्त्री एवं ने.का.पूर्व के.स.बलदेव शर्मा मजगैंया उपरोक्त कार्यक्रममा सहभागी हुन उत्साहित न भएता पनि छोरा समीरको सहयोगले मलाई सहभागी गराएर आफ्नो निवासमा  पुर्‍याउन समेत अकल्पनीय सहयोग गर्नु भएको थियो । त्यस्तै वहाँको पत्नी र बुहारीको स्नेहपूर्ण आतिथ्य स्मरणीय छ । पूर्व मन्त्री बलदेवजी हिजो आज अध्यात्म र साहित्य सृजनमा रमाएको अनुभव गरें ।

ट्याक्सस भ्रमणको चौथो दिन अनिल ओझाको सौजन्यले उनको प्लानो स्थित निवासदेखि पार्कर रोड रेलवे स्टेशनबाट डलास डाउन टाउनसम्मको ट्रेन यात्रा पनि स्मरणीय छ । यात्रामा एउटा स्वेत अमेरिकन युवा सहयात्रीको असहज भाव भंगिमाका कारण सजकतावश हामीले आफ्नो आसन परिवर्तन गरेका थियौं । अमेरिकामा पनि कहिले काहीं असामान्य घटना घटित हुने गर्छन् । डाउन टाउनको स्टेशनबाट पैदल यात्रा गर्दै हामीले त्यहाँका गगनचुम्वी भवनहरुको अवलोकन गर्दै फोटो पोज लिदै त्यहा स्थित एक्वेरियमको प्रबेश मार्गको दायाँ–बायाँ विभिन्न चरा चुरुङ्गीहरुका साथै त्यहाँ स्थित अन्य जातिका माछाहरु सहित सार्क प्रजातिका माछाहरु पनि हेर्यौं । डाउनटाउन भ्रमणको क्रममा त्यहाँ रहेको रियुनियन टावर सम्म पुग्यौं । तर डेरा फर्कन बिलम्ब हुने भएकाले र काठमाडौंको धरहरा जस्तै टावरको अनुभव साथमा रहेका भोला रिजालबाट सुनेपछि आरोहण प्रति उत्साह रहेन ।

गत फेबु्ररी २ मा डेनवरबाट श्रीमती सहित न्यूयोर्कको यात्रा एउटा थप नवीन अनुभव थियो । तन्नेरी साथी परमानन्द खनालको प्रेरणाले तत्कालका लागि यो यात्रा सम्भव भएको थियो । किनभने न्यूयोर्क विमानस्थलमा सहयोगी र आश्रयस्थलको निश्चितताको अभावमा यात्रा सम्भव थिएन । लगारिन एयरपोर्टको वहिर्गमन गेटमा सहजताका साथ पुग्यौं । तर पुग्दा यातायातको चापले खनालजीलाई ४५ मिनट कुर्नु धेरै लामो लाग्यो । खनालजीलाई भेटाउँदा ठूलो आनन्दको अनुभूति भएको अहिले पनि सम्झन्छु । खनालजीको निवासमा उहाँको श्रीमति रीना रिमाल र सासु आमाको स्नेहमय आतिथ्य तथा सानी छोरी द्वयको बात्सल्यमय सामिप्यले पारिवारिक वातावरणलाई मूर्तता प्रदान गरेको थियो ।

न्यूयोर्क पुगेको भोली पल्ट अपरान्ह लङआइल्याण्ड जान विचको किनारमा असीम शान्त समुद्रको जल स्पर्श र त्यहाँको मौसम अनुसारको चिसो हावाको आनन्द लिनु अनुपम अनुभव थियो । बीच नजिक रेस्टुरेन्टमा तातो कफी पिउँदै आफुहरुलाई केही न्यानो बनाउने रहर पनि पूरा गयौं । अफ सिजन भएकाले समुद्रको रमणाीय बीचमा हामी जस्ता ८-१० जना बाहेकको उपस्थिति थिएन । लगभग ५ बज्न थालेकाले कफी हाउस पनि बन्द गर्ने तरखर गरेकाले यहाँको चलन अनुसार खादै गरेको कफीको ग्लास बोकेर हिडेका थियौँ । त्यहाँबाट फर्किदा विगतमा भियतनाम, लाओस र कम्बोडियाको युद्धमा वीर गति प्राप्त गरेका अमेरिकन सिपाहीहरुको सम्मानमा बनाइएको Veterans Memorials Park मा साँझ भए पनि एक छिन अवलोकन गर्ने मोह त्याग्न सकिन । आफ्नो देशको प्रतिष्ठाका लागि वीर सिपाहीहरुले दिएको बलिदानलाई हामी सबैले सम्मान गर्नु पर्छ ।

यी दिनहरु स्वस्थानी ब्रत कथाका दिनहरु थिए । त्यसैले खनालजीको माथिल्लो तल्ला स्थित स्थानीय नेपाली मन्दिरका पुजारी पीपल मणि सिग्देलको निवासमा स्वस्थानी कथा वाचन गर्ने गरिएकोले हामी पनि सहभागी भयौं । तर स्वस्थानी ब्रत कथा आजको सन्दर्भमा युग अनुसारको परिमार्जन हुनु पर्ने भाव म भित्र आएता पनि कदाचित यो सम्भव छैन ।

अमेरिकाका नव निर्बाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद आप्रवास नीति उनको आफ्नै बृत्तमा समेतमा सर्ब स्वीकार्य हुन सकेको छैन । तर पनि बैधता प्राप्त आप्रबासीलाई अहिले सम्म कुनै उल्लेख्य बहुप्रचारित समस्या देखिएको छैन । यद्यपि आपराधिक मनोबृत्ति भएका पात्र हरेक देश र समाजमा समय–समयमा देखिन्छन् । यहाँ पनि घटित भएको देखिनु दुखद र निन्दनीय पक्ष हो । हिजो आज ग्रिनकार्डधारी हरु समेत स्वदेश जान तर्सिरहेको हल्ला चलेको सन्दर्भमा एक जना ग्रिन कार्ड वाहक साथी आफ्नी वहिनीको शुभ विवाहमा काठमाडौं जाने तयारीमा छन् ।

आप्रबास कसैका लागि रहर हुन सक्छ, कसैका लागि बाध्यता पनि हो । यहाँ सबै सुखमय छैन । केहि समय अघि न्यूयोर्कमा कार्यरत एक जना आप्रबासी महिलाले २ वटा वयस्क छोराहरु भएर पनि एक जना अमेरिकन तन्नेरीसंग आकर्षित भएर उसको एउटा छोरालाई जन्म दिइन् । तर त्यो छोरालाई त्यो अमेरिकन तन्नेरीका आमा बाबुले आफै पाल्छु भनेर लगेर गए । ती अमेरिकन तन्नेरीले पनि ती नेपाली महिला कामदारलाई छाडेर गए । यो एउटा दुखद घटना हो । यस्ता घटना हरेक देशमा घटित हुन्छन् । तर हामी आप्रबासमा भएकाले बढी दुख लाग्छ ।

भट्टराई ने.का.पूर्व केन्द्रिय सदस्य एवं पूर्व उर्जा राज्य मन्त्री हुन

हाल
प्रवीण निवास, डेनभर
कोलोराडो, यू.एस.


(२०७३ फाल्गुन १९, बिहीबार) ०१:०९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना