बाकसमा थुनिएका किशोरको राजधानीबाटै उद्धार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ फाल्गुन ५, बिहीबार) २२:१३

पानीपोखरीस्थित नेपाल प्रहरी अस्पतालको केही मिटर पर पुगेपछि दायाँतिर एउटा गल्ली आउँछ। गल्लीको आसपासमा भिआईपीका जस्ता घर छन्। तीनै घरको बीचमा एउटा सानो टहरा पनि छ। टहराको सामुन्ने एउटा सानो सुकेको रुख र एउटा फलामे रड बाँधेर बनाएको एउटा सानो बाकस छ।

बाकसभित्र एउटा किशोर थुनिइन्छ। रुखमा अर्को किशोर बाँधिन्छ। २० वर्षिय अनिल राना र उनका भाई १३ वर्षीय सुनील रानाको दैनिकी कहिले बाकसमा थुनिनु त कहिले रुखमा बाँधिएरै बिथ्यो , बुधबारसम्म। अनिल र सुनिलको शरिर भरी चोटैचोट छ। अनुहार, हात, टाउकोमा चोटैचोट लागेको केही परबाटै प्रस्ट देखिन्छ। एक जापानी नागरिकको प्रयास, सामाजिक सन्जालको प्रयोग र सहारा केन्द्रको तत्परतापछि उनीहरुको बिहीबार उद्धार भएको छ र

यसरी भयो उद्धार
जापानी नागरिक माकितो मिनामी कति पटक नेपाल आए, उनीसँग हिसाब छैन। ‘गन्न सक्दिन’, नेपाल कति पटक आउनु भयो भन्ने जिज्ञासामा मिनामीले भने। तर यसपटकको नेपाल बसाई भने उनी जिवनभर भुल्ने छैनन्। मानवशास्त्र सम्बन्धी रिसर्च गर्न नेपाल आएका उनकै एउटा सानो प्रयासले कैदीजस्तै जिवन बिताईरहेका एकै घरका दुई जना किशोर बिहीबार एक सहारा केन्द्रमा पुगेका छन्।

एक साता अघिको कुरा हो, महाराजगन्जस्थित साथीको घरमा बसिरहेका बेला मिनामीले बाहिरबाट बच्चा चिच्याईरहेको आवाज सुने, त्यसमा फलामको ककर्ट आवाज पनि मिसिएको थियो। झ्याल खोलेर हेरे, सानो झुपडीजस्तै लाग्ने घरको आगनमा कहालीलाग्दो दृश्य देखे। एउटा बालकलाई रड बाँधेर बनाएको बाकसमा थुनिएको थियो भने अर्कालाई नजिकै रहेको रुखमा बाँधिएको थियो।
बाकसभित्र रहेका बच्चाको शरिरपनि त्यहाँ राम्रोसँग अटिरहेको थिएन।उनको चित्कार सुनिनसक्नु थियो। बाहिर निस्कन चिच्याईरहेका थिए। ‘ स्तब्द हुँदैं मैले त्यो दृश्यको भिडियो खिचें ‘, ५६ वर्षीय मिनामीले भने। उनले आफ्ना साथी राम बहादुर श्रेष्ठसँग कुरा गरी प्रहरीमा खबर गर्न तम्सिए।

‘मैले जिवनमै यस्तो दृश्य पहिलो पटक देखेको हुँ र चाहन्छु यो अन्तिम पटक बनोस् ‘, मिनामीले भने। रामबहादुरले मानव अधिकारको क्षेत्रमा काम गरिरहेका साथी दुर्गानाथ दाहाललाई खबर गरे। दाहालले बुधबार उक्त भिडियो सामाजिक सन्जालमा राखे। भिडियो भाइरलजस्तै भयो।

विभिन्न सहारा केन्द्रले दाहाललाई आफुले ती बच्चालाई राख्ने भनेर खबर गरे। ‘तर बच्चा सुस्तमनस्थिती भएकाले जसलाई पायो त्यसलाई दिन सँकिदैन थियो ‘, दाहालले भने। उनले बालाजुमा रहेको मानव सेवा आ श्रम सुस्तमनस्थितीबारे राम्रो सहारा केन्द्र रहेको बुझेर सम्पर्क गरे। मानव सेवा आश्रम तयार भयो।

बिहीबार बिहान समाजकल्याण परिषद्को प्रतिनिधिको रोहबरमा ती दुई बालकलाई उक्त आश्रमको जिम्मा लगाईएको छ। यी दुवै सुस्त मनस्थिती दाजुभाई हुन्। १३ वर्षका सुनिल राना र २० वर्षका अनिल राना लामो समयदेखी यस्तै जिवन बिताउन बाध्य थिए। धमन बहादुर राना र सरिता रानाका चार सन्तान (छोरा)मध्ये अनिल र सुनिल क्रमश जेठा र माइला सन्तान हुन्। अनिल र सुनिलको शरिर भरी चोटैचोट छ। अनुहार, हात, टाउकोमा चोटैचोट लागेको केही परबाटै प्रस्ट देखिन्छ।

‘दुई जना छोरा स्कुल जान्छन् , श्रीमान कमाउन जानुहुन्छ। म कही निस्कनु पर्‍यो भने दुवै जनालाई बाँध्नुको विकल्प थिएन। त्यत्तिकै छाड्दा छिमेकीले कराएर हैरान हुन्थ्यो ‘, आमा सरिता भन्छिन् , ‘अर्को कुरा दुवैलाई छाड्दा काम गर्न पाइन्न। उनीहरु आपसमा झगडा गरेर केही होला की भन्ने डर हुन्छ।’ धमनको परिवार करिब एक वर्ष अगाडि अर्काको जग्गामा टहरा बनाएर महाराजगन्जमा बसिरहेको छ।

धमन भने केही पटक सहारा केन्द्रमा बच्चा पुर्‍याएपनि पछि उनीहरुले फर्काई दिएको बताउँछन्। ‘मैले बानेश्वर, बाग्लुङ र गोटिखेलमा रहेका सहारा केन्द्रमा लगेर बच्चा राखें। तर केही महिनापछि नै ती सहारा केन्द्रले आफुले हेर्न नसक्ने भन्दै बच्चा लिन आउन खबर गरे ‘गुल्मी स्थायी घर भएका धमनले भने।

यी सुस्तमनस्थिति किशोरको चित्कारले छरछिमेक पनि हैरान भएको छिमेकी राम बहादुर श्रेष्ठ बताउँछन्। ‘तर, हामी छिमेकीले प्रयास गरेपनि अभिभावकले मानेका थिएनन्’, राम बहादुरले भने। शुक्रबार स्वदेश फर्कन लागेका जापानी नागरिक मिनामी बिहीबार निकै खुसी देखिन्थे। यसअघि माओवादी द्धन्द्ध र मगर जातीबारे रिसर्च गरेका मिनामी यस पटक भूकम्पको सामाजिक असरबारे अनुसन्धान गर्न आएका थिए।


(२०७३ फाल्गुन ५, बिहीबार) २२:१३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना