चुनाव मिति घोषणा गर्ने तयारी : मोर्चा नमाने पनि जेठमा चुनाव

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ फाल्गुन ४, बुधबार) ०३:१०

स्थानीय तहको निर्वाचन मिति ८ फागुनमा घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच दुई घण्टा लामो छलफल भएको थियो । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले अव निर्वाचनको मिति घोषणामा सरकारले ढिलाई नगर्ने भन्दै ८ फागुनमा मिति घोषणा गरेर अगाडि बढ्नेबारे जानकारी गराएका थिए ।

‘अव निर्वाचन मिति घोषणामा सरकारले ढिलाई गदैन,’ बैठकमा प्रधानमन्त्री प्रचण्डको भनाई उदधृत गदै उनको नीजि सचिवालयले भन्यो, ‘निर्वाचन आयोगलाई तयारी गर्न सरकारले पत्राचार गरिसकेको छ, अव निर्वाचन मिति पनि घोषणा गरेर सरकार अगाडी वढ्छ ।’ संविधानको वाध्यकारी ब्यवस्था अनुसार सरकारले आगमी ७ माघ भित्रै स्थानिय, प्रदेश र संघको निर्वाचन गराउनुपर्ने छ ।

यसअघि माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठको निवास हात्तिवनमा २८ माघमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीस“ग फागुन पहिलो साताभित्रै निर्वाचन मिति घोषणा गर्ने बताएका थिए । मंगलवार साझको बैठकमा प्रधानमन्त्रीले निर्वाचन मिति घोषणा वारो सत्ता साझेदार दल काग्रेसको पनि धारणा वुझन खोजेका थिए ।

बालुवाटर बैठकअघि राष्ट्रपतिनिवासमा प्रचण्ड–ओली भेट
प्रमुख तीन शीर्ष नेताहरूको बालुवाटार बैठक मंगलबार बिहान तय भएको थियो । राष्ट्रपतिनिवासमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटपछि प्रधानमन्त्रीले साँझ बालुवाटारमा कांग्रेस सभापति देउवासहितको बैठक बोलाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सीमाअनुसार निर्वाचनका विषयमा प्रमुख दलहरूको लिखित ध्यानाकर्षण गराएको भोलिपल्टै प्रधानमन्त्री र ओलीलाई छलफलका लागि डाकेकी थिइन् ।

उनले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई संविधानको बाध्यकारी अवस्थाका विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै अविलम्ब निर्वाचनको बाटोमा अघि बढ्न सुझाएकी थिइन् । राष्ट्रपतिसँगको छलफलमा प्रधानमन्त्रीले आफू ८ देखि ११ फागुनभित्रै निर्वाचनको मिति घोषणा गर्न तयार रहेको, तर एकपटक कांग्रेस सभापति देउवासँग पनि छलफल गर्नुपर्ने बताएका थिए । सोही कारण साँझ तीन शीर्ष नेताहरूको छलफल कार्यक्रम तय भएको हो । राष्ट्रपतिनिवासमा प्रधानमन्त्रीसँग भएको छलफलबारे एमाले अध्यक्ष ओलीले पार्टी स्थायी समिति बैठकमा समेत ‘ब्रिफिङ’ गरेका थिए ।

‘प्रधानमन्त्रीले ८ देखि ११ फागुनसम्म निर्वाचनको मिति घोषणा गर्न तयार रहेको बताउनुभएको छ, तर कांग्रेससँग छलफल गरौँ भन्नुभएको छ,’ पार्टी बैठकमा मंगलबार बिहानको राष्ट्रपतिनिवासमा भएको छलफलबारे ओलीले भने ।

प्रचण्ड लचक, देउवा अडानमै
संविधान संशोधनपछि निर्वाचनको मिति घोषणा वा निर्वाचन मिति घोषणापछि संशोधन भन्ने विषयमा राजनीति अल्झिरहेका वेला प्रधानमन्त्री केही लचक देखिएका छन् । उनी अब निर्वाचनको मिति घोषणापछि संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लचक देखिएका छन् । तर, कांग्रेस सभापति देउवा संशोधन प्रक्रिया अगाडि बढाएर मात्रै मिति घोषणा गर्नुपर्ने पक्षमा थिए ।

सोमबार राष्ट्रपतिनिवासमा भएको सात दलको छलफलमा पनि देउवाले संशोधन गर्न एमालेले सहयोग गर्नुपर्ने भन्दै संशोधनमा समर्थन गरेकै भोलिपल्ट चुनाव घोषणा हुने बताएका थिए । मंगलबार साँझको बैठकमा समेत देउवा सोही अडानमा देखिएको स्रोतको भनाइ छ । तर, प्रधानमन्त्री भने संविधान संशोधन प्रस्ताव र निर्वाचनको मिति सँगसँगै घोषणा गरेर जान तयार देखिएका छन् ।

मंसिरअघि तीनै तहको निर्वाचन गर्न एमालेद्वारा ध्यानाकर्षण
प्रमुख प्रतिपक्ष एमालेले आगामी मंसिरअगावै तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गरेको छ । स्थायी समितिको मंगलबार बसेको बैठकले स्थानीय तह, प्रदेश र संसद्सहित तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले त्यसका लािग आवश्यक कानुनी र राजनीतिक वातावरण मिलाउन पनि आग्रह गरेको छ । एमालेले तत्काल निर्वाचन मिति घोषणा नभए सरकारको औचित्य समाप्त हुने बताउँदै आएको छ ।

 मोर्चा नमाने पनि जेठमा चुनाव

प्रमुख दलका शीर्ष नेता जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्दोलनरत मधेसी मोर्चा सहमतिमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन गरी अघि बढ्ने निष्कर्षमा पुगेका छन्। सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक/दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्षमा उनीहरु पुगेका हुन्।

प्रमुख दल कांग्रेस, एमाले र माओवादीबीच मंगलबार शीर्ष तहमा छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन ८ भित्रै स्थानीय चुनाव मिति घोषणा गर्ने निष्कर्षमा पुगेको स्रोतको भनाइ छ। मधेसी मोर्चासँग एकपटक अन्तिम छलफल गरी चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ।

मंगलबार बिहान राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीलाई बोलाई निर्वाचनबारे छलफल गरेकी थिइन्। निर्वाचन मिति घोषणा गर्न ढिलो भएको बारे राष्ट्रपतिले प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीलाई गम्भीर सचेत गराएको स्रोतको भनाइ छ। राष्ट्रपतिले प्रधानमन्त्रीसँग निर्वाचन मिति घोषणा गर्न किन ढिलो भएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेकी थिइन्। प्रधानमन्त्रीले भने मधेसी मोर्चाले नमानेका कारण चुनाव मिति घोषणा गर्न ढिलो भएको भन्दै एकपटक मधेसी मोर्चासँग अन्तिम कुराकानी गर्ने बताएका थिए।

भेटमा एमाले अध्यक्ष ओलीले भने चुनाव मिति घोषण गर्न सरकारले आलटाल गरिरहेको भन्दै एमाले अविलम्ब चुनावको पक्षमा रहेको बताएका थिए। राष्ट्रपतिले सोमबार मात्र प्रमुख सात दलका शीर्ष नेतालाई बोलाएर चुनावबारे छलफल गरेकी थिइन्। जेठभित्र  स्थानीय निर्वाचन गर्न उनले सात दलका नेतालाई आग्रह गरेकी थिइन्।

सोमबार बैठकमा राष्ट्रपतिसँग दोहारो संवाद भएकेा थिएन तर मंगलबार बिहान भएको छलफलमा राष्ट्रपतिसँग दोहारो छलफल भएको स्रोतको भनाइ छ।

प्रधानमन्त्री निकटस्रोतका अनुसार आगामी जेठमा स्थानीय चुनाव नभए संविधान कार्यान्वयन संकटमा पर्ने भन्दै चुनाव गर्न प्रमुख दललाई राष्ट्रपतिले गम्भीर हुन सचेत गराएकी थिइन्।

एमाले नेता प्रदीप ज्ञवालीले मंगलबार बिहान संयोगले राष्ट्रपति र एमाले अध्यक्षबीच भेट भएको बताए। ‘प्रधानमन्त्रीज्यू राष्ट्रपतिलाई भेट्न राष्ट्रपति निवास पुग्नुभएको रहेछ। त्यहीँबाट प्रधानमन्त्रीज्यूले एमाले अध्यक्षलाई टेलिफोन गरी बोलाउनुभयो’, ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले  बोलाएपछि अध्यक्षज्यू राष्ट्रपति निवास पुग्नुभयो।’

राष्ट्रपतिसँगको भेटमा समसामयिक विषयबारे छलफल भएको पनि ज्ञवालीले बताए।

राष्ट्रपतिसँग भेट गरेपछि मंगलबार साँझ प्रधानमन्त्री निवास, बालुवाटारमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छुट्टै कुराकानी भएको थियो। त्यसपछि बालुवाटारमै प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र एमाले अध्यक्षबीच कुराकानी भएको थियो। छलफलपछि सकेसम्म मधेसी मोर्चालाई मनाएर मिति घोषणा गर्ने, मोर्चा नमाने पनि चुनावमा जाने निष्कर्षमा पुगेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले चुनावमा मनाउन मधेसी मोर्चासँग सरकारले अन्तिम प्रयास गर्ने भन्दै त्यसपछि पनि मोर्चाले नमाने चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताए।

‘सरकारले एकपटक मधेसी मोर्चासँग अन्तिम प्रयास गर्छ। तैपनि नमाने चुनावको मिति घोषणा गर्छ’, खनालले भने।

मिति घोषणाकै दिन आन्दोलन थाल्छौं : मोर्चा

संविधान संशोधनबिना कुनै पनि चुनाव हुन नसक्ने अडान राख्दै आएको मधेसी मोर्चाले भने सरकारले चुनाव मिति घोषणा गरेकै दिन आन्दोलन कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको छ।

सरकारले संविधान संशोधन विधेयक पास नगरी चुनाव मिति घोषणा गरे चुनाव गर्न नदिने मोर्चाले रणनीति बनाएको हो। राजधानीमा उपलब्ध नेताहरूले बुधबार अनौपचारिक छलफल गरी मोर्चाको थप रणनीति तय गर्ने भएका छन्। संसद्मा टेबुल भएको संविधान संशोधन विधेयक अघि नबढाई नेपाली कांग्रेस र माओवादी केन्द्रले मोर्चालाई धोका दिन खोजेको मोर्चाका नेताले ठहर गरेका छन्। बुधबार हुने अनौपचारिक छलफलमा यसबारे निर्णय गर्ने मोर्चाका नेताहरूले बताएका छन्। संशोधन विधेयक चाँडै अघि बढाउने प्रतिबद्धता सरकारले पटकपटक गरे पनि विधेयक अघि नबढाएकोमा  मोर्चाका नेता सरकारसँग रुष्ट छन्।

उनीहरूले संविधान संशोधन विधेयक अघि बढाउन समयसीमा राखेर सरकारलाई चेतावनी दिने तयारी गरेका छन्।

‘संविधान संशोधन अघि बढाउन अब समयसीमा नै राखेर सरकारलाई चेतावनी दिन्छौं’, मोर्चाका नेता केशव झाले भने, ‘भोलि (बुधबार) हाम्रो अनौपचारिक बैठक बस्छ। यसबारे छलफल हुन्छ।’

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले समस्या समाधान गर्ने बाटोमा सरकार नलागेको भन्दै अब आन्दोलनका विकल्प नभएको बताए। आफूले आन्दोलन तयारी सुरु गरेको पनि उनले बताए। ‘अब आन्दोलनको विकल्प छैन। हामीले आन्दोलनको तयारी सुरु गरेका छौं’, यादवले भने।

यस्तै आक्रोश राष्ट्रिय मधेस समाजवादी पार्टीका उपाध्यक्ष शेखर सिहंले पनि पोखे। ‘नेपाली कांग्रेस र माओवादी केन्द्रले हामीलाई धोका दिन खोजका छन्,’ सिहंले आरोप लगाए, ‘संशोधन विधेयक अघि नबढाएर आलटाल गर्न लागिरहेका छन्।’


(२०७३ फाल्गुन ४, बुधबार) ०३:१० मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro