विप्लवका लागि प्रचण्ड भन्दा बाबुराम ठूलो खतरा !

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ बैशाख ८, बुधबार) २१:५८

विप्लव माओवादीले बाबुरामको नयाँ शक्तिलाई एमाओवादी भन्दा बढी चुनौतीपूर्ण भएको निष्कर्श निकालेको छ । तत्कालिन राजनीतिक परिस्थितिका बारेमा विश्लेषण गर्दै विप्लव माओवादीले बाबुराम भट्टराईले माओवादीबाट निराश पंक्तिलाई समेट्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो ।

“सशस्त्र क्रान्ति हुन सम्भव नभएकोले आर्थिक क्रान्ति र विकास निर्माणको तर्क गर्ने गरेका छन् । नेपालमा छिमेकी खुसी पारेर या भारतको सहयोगमा राजनैतिक कार्य गर्नुपर्दछ भनेका छन् ।” विप्लव माओवादीको केन्द्रीय समितिले पारित गरेको राजनैतिक प्रस्तावमा उल्लेख छ, “यी तर्क र विश्लेषणले क्रान्तिबाट विश्वास टुटेका, थाकेका या खतरा मोल्न नचाहने हिस्सा, प्रचण्डको दोधारे कुराबाट हैरान भएका, आर्थिक विकास र समृद्धि हुनसक्छ कि भनेर राख्ने वर्ग, भारतको सहयोग लिएर राजनीति गर्ने नै व्यवहारिक राजनीतिक हो भन्ने सोच राख्ने प्रवृत्ति सबै एकपटक बाबुरामसँग पुग्ने सम्भावनालाई नकार्न सकिँदैन ।” दस्तावेजमा उल्लेख छ ।

विप्लव माओवादीको गोप्य दस्तावेजमा अगाडि उल्लेख छ– “तुरन्तै भन्दा पनि राजनैतिक संघर्षको क्रममा यो प्रवृत्ति प्रचण्डको भन्दा चुनौती बन्ने सम्भावना छ ।” विप्लव माओवादीले बाबुरामको नयाँ शक्ति अहिले नै सरकारतिर नभई शक्ति निर्माण र अर्को चुनावको तयारीतिर केन्द्रीत भएको देखिन्छ भन्ने निष्कर्श समेत निकालेको छ ।

राजनीतिकरुपमा प्रचण्ड र बाबुरामको भण्डाफोर अभियानलाई तीब्र पारिने विप्लव माओवादीको तयारी छ । बाबुराम भट्टराईलाई मुख्य चुनौती ठानेपछि नयाँ शक्तिप्रति प्रचण्डभन्दा बढी आक्रामक हुने विप्लव माओवादीको दस्तावेजले स्पष्ट पारेको छ ।

विप्लव माओवादीको दस्तावेजको अंश

सैद्धान्तिकरुपमा भने बाबुरामको नयाँ शक्तिको विचार माक्र्सवाद, लेनिनवाद र माओवादको सिर्जनात्मक विकास नभएर यसलाई नै परित्याग गरेको पलायनवादी, biplab dastabejविसर्जनवादी, रुसी यल्तसीनको विघटनवादी पूँजिवादी धारा भएको विप्लव माओवादीको निष्कर्श छ ।

“क्रान्तिका लागि बाबुरामको धारा हाललाई अन्य धाराभन्दा चुनौतीपूर्ण हुन सक्छ ।” दस्तावेजमा उल्लेख  छ ।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकले एकवर्षको समीक्षा गर्दै पार्टी, संगठन र संघर्षका क्षेत्रमा प्राप्त उल्लेख गरेका सफलता र कमजोरीलाई समेत दस्तावेजमा समेटिएको छ । संगठन र संघर्षका क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको विप्लव माओवादीको दावी छ । यद्यपी एकीकृत क्रान्तिको कार्यदिशाबारे कार्यकर्तालाई स्पष्ट पार्न नसकिएको भने दस्तावेजले स्वीकार गरेको छ ।

माओवादीबीच चलिरहेको एकताको प्रयत्नलाई समेत गलत भनेको छ । दस्तावेजले मोहन वैद्य किरणको विचारको समर्थन गर्दै एकता चाहनेहरुको प्रयासलाई अर्थहीन बताएको छ ।


(२०७३ बैशाख ८, बुधबार) २१:५८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना