चुनावको तयारीका लागि सरकारले आयोगलाई पत्र पठाउँदै

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ २१, शुक्रबार) ०२:२८

काठमाडौं, २१ माघ । 

स्थानीय चुनावको तयारी गर्न सरकारले शुक्रबार निर्वाचन आयोगलाई पत्र पठाउँदैछ । बिहीबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सरकारले शुक्रबार आयोगलाई पत्राचार गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद बैठकले वैशाख अन्तिम हप्तादेखि जेठ १० गतेभित्र स्थानीय चुनाव सक्ने गरी तयारी थान निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो । चुनावको लागि आवश्यक विधेयक संसदबाट पारित भएपछि चुनावको तयारीका लागि बाटो खुलेपनि वर्षाअघि चुनावको सम्भावना भने कम देखिएको छ ।

पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाई हुँदा आशंका बढेको हो । कानुनी व्यवस्था अनुसार चुनावको मिति तोक्ने अधिकार सरकारको हो । नयाँ संविधानानुसार स्थानीय तह वा पुरानो संरचनाको स्थानीय निकायको चुनाव भन्नेबारे भने स्पष्ट भइसकेको छैन । यस्तै स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा सुझाव लिन गठित कार्यदलले शुक्रबारदेखि काम थाल्दैछ ।

आयोगलाई सरकारले दिएको मापदण्ड र उसको प्रतिवेदनमाथि प्राप्त गुनासाका सम्बन्धमा अध्ययन गरी दुई हप्ताभित्र सुझाव दिन बिहीबारको मन्त्रिपरिषद वैठकले कार्यदल गठन गरेको हो । कार्यदलको संयोजकमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र सदस्यमा आपूर्तिमन्त्री दीपक बोहरा र उद्योगमन्त्री नवीन्द्रराज जोशी हुनुहुन्छ । मन्त्री जोशीले शुक्रबारदेखि काम सुरु गर्ने तयारी भैरहेको उज्यालोलाई जानकारी दिए ।

कार्यदलले सुझाव समेटेर प्रतिवेदन बुझाएपछि मात्र स्थानीय तह या निकायको चुनावबारे प्रष्ट हुने सरकारले जनाएको छ । पूर्वसचिव बालानन्द पौडेल अध्यक्ष रहेको पुनर्संरचना आयोगले गएको पुस २२ गते सरकारलाई ७१९ स्थानीय तहसहितको प्रतिवेदन पेस गरेको थियो । संविधानबमोजिम गठित आयोगको प्रतिवेदन परिमार्जन गर्न सकिने या नसकिने भन्ने बहस चलिरहेको छ । संविधान अनुसार आउँदो २०७४ माघ ७ गतेभित्र केन्द्र, प्रदेश र स्थानीय निर्वाचन भइसक्नुपर्छ ।


(२०७३ माघ २१, शुक्रबार) ०२:२८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना