चिनियाँ सेनाको उच्चस्तरीय टोली सुटुक्क काठमाडौंमा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ ९, आईतवार) १३:४७

चिनियाँ जनमुक्ति सेनाको टोली सुटुक्क नेपाल आएर उच्चस्तरीय भेटवार्ता गरिरहेको छ । अर्को महिना नेपाल चीन पहिलो संयुक्त सैन्य अभ्यासको तयारी भइरहेका बेला चिनियाँ जनमुक्ति सेनाले मेजर जनरलको नेतृत्वमा टोली पठाएको हो । दुई महिना अघि वरिष्ठ कर्णेल नेतृत्वमा चिनियाँ सेनाको टोली नेपाल आएको थियो ।

तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुगेका मेजर जनरल ली उु चुन नेतृत्वको टोलीले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेको छ । चिनियाँ टोलीको यो भ्रमणबारे परराष्ट्र, रक्षा र सैनिक हेडक्वाटरका समेत सीमित अधिकारीहरुलाई जानकारी दिइएको छ, त्यसैले सेनापतिसँग भेटवार्ता सैनिक जनसम्पर्क निर्देशनालयले पनि केही बोलेको छैन ।

उच्च स्रोतका अनुसार यसपटक चिनियाँ सेनाले नेपाली सेनालाई केही सैन्य सामाग्री दिने तयारी गरेको छ । चिनियाँ सेनाले विषेश गरेर विकास निर्माण र अस्पताल सम्बन्धी उपकरणहरु दिने सम्झौता गर्ने बताइएको छ ।

सैनिक प्रवक्ता ताराबहादुर कार्कीले चिनियाँ सेनाको टोली नेपाल भ्रमणमा रहेको स्वीकार गरे । नियमित सम्बन्धका कारण काठमाडौं आएको भन्दै उनले भने, ‘यो नियमित भ्रमणको शिलसिला हो । यसमा खास कुरा केही छैन ।’

सैन्य अभ्यासको तयारी

नेपाली सेना र चिनियाँ सेनावीच पहिलोपटक संयुक्त अभ्यासको तयारी भइरहेको छ । यसले दुई देशको सैन्य सम्बन्धमा नयाँ आयाम थपिने रक्षा अधिकारीहरु बताउँछन् ।

अहिले नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको टोलीले सैन्य अभ्यासबारे पनि चासो दिएको छ । पहिलो पटक हुने लागेको यो अभ्यासमा कति जना सहभागी गराउने, कुन स्थानमा गर्ने भन्ने लगायतका विषयमा दुई देशका सेनाले तय गरेपछि मिति तोकिने सेना स्रोतले बतायो ।

सैन्य अभ्यास सुरुवात मात्रै होः पूर्व रथी शर्मा

चिनियाँ र नेपाली सेनावीच हुन लागेको संयुक्त अभ्यासका बारेमा भारत र अमेरिकाले समेत चासो दिएका छन् । नेशनल डिफेन्स कोर्ससहित केही महत्वपूर्ण तालिमका लागि नेपाली सेना चीन जाने गरेको भए पनि संयुक्त सैन्य अभ्यास अहिलेसम्म हुन सकेको थिएन ।

पूर्व रथी बालानन्द शर्मा चीन र नेपालबीच हुने सैन्य अभ्यासलाई भारतले चासो दिनु स्वभाविक भएको बताउँछन् । उनले भने ‘आफ्नो स्पेसमा चीन पस्यो भनेर भारतले चासो दिनु स्वाभाविक हो । तर, यो चिनियाँ र नेपाली सेनालाई एक अर्काका बारेमा जान्ने नयाँ अवसर हो ।’

चिनियाँ सेनासँग हुने सैन्य अभ्यास नेपाली सेनाको सुरुवात मात्रै हुने पूर्व रथी शर्माको बुझाइ छ । ‘अमेरिका, बेलायत, भारतसँग सैन्य अभ्यास भइरहेको छ । चीनसँग पनि कुनै न कुनै दिन सुरुवात गर्नुपर्ने थियो । यसपटक भयो,’ उनले भने ।


(२०७३ माघ ९, आईतवार) १३:४७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना