टिकापुर काण्डः प्रमुख दोषी राजेन्द्र महतोदेखि देव गुरुङसम्म, कारवाही गर्न सुझाव

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ ९, आईतवार) ०३:००

गत वर्ष कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको ज्यान जाने गरी भएको घटनाको प्रमुख दोषी मधेशवादी दलका नेता रहेको पाईएको छ । कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको घटनाको प्रमुख दोष नेताहरुले दिएको अभिव्यक्ति रहेको पाईएको हो । घटनापछि संसदको राज्यव्यवस्था समितिद्धारा गठित उपसमितिले टिकापुर घटना घट्नुमा नेताहरुको अभिव्यक्ति रहेको सुझाव दिएको छ ।

उपसमितिले तयार पारेका प्रतिवेदनमा घटनामा संलग्न र मतियार सबैलाई सरकारले प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिएको हो ।

२०७२ साउन २८ मा विभिन्न दलका नेताहरूले थारूवान संघर्ष समितिको आमसभामा दिएको अभिव्यक्तिका कारण भदौ ७ मा टीकापुर घटना भएको उपसमितिले निष्कर्ष निकालेको छ । उक्त घटनाको पूर्वसन्ध्यामा टीकापुरमा गरिएको सभामा कांग्रेसका नेता अमरेशकुमार सिंह, संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, माओवादी केन्द्रका नेता देव गुरुङलगायत जिम्मेवार नेताहरूको अभिव्यक्तिको पृष्ठभूमिमा घटना भएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

उपसमितिले राजनीतिक आन्दोलनको आडमा आर्थिक प्रलोभन देखाई उक्साउने गरी गरिएको यस प्रकारको आपराधिक क्रियाकलापमा संलग्न जो–कोहीलाई विद्यमान कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको २०७२ भदौ २ मा बसेको बैठकले आन्दोलनपछि बन्ने प्रदेश सरकारले आन्दोलनमा ज्यान गुमाउने सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने, सहिद परिवारलाई आजीवन नि:शुल्क शिक्षा दिने र रोजगारी पनि उपलब्ध गराइदिने घोषणा गरेको थियो ।

स्थलगत प्रतिवेदनमा मोर्चाले आन्दोलनमा सरिक हुने सर्वसाधारण प्रत्येकलाई ५ सय रुपैयाँ दिने र सरिक नभएमा एक सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गर्ने गरेको दाबी समेत छ ।

कांग्रेस सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा गठित उपसमितिले नेताहरूका अभिव्यक्ति ‘अत्यन्त अराजक, आपत्तिजनक, निन्दनीय, गैरजिम्मेवारपूर्ण रहेको’ र त्यसले सामाजिक सद्भावमा गम्भीर खलल पु¥याएको निष्कर्षसमेत निकालेको छ ।


(२०७३ माघ ९, आईतवार) ०३:०० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना