सेभिल्लासँग हारेपछि रियलको अपराजित यात्रा टुंगियाे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ ३, सोमबार) ०३:१५

काठमाडौं, ३ माघ ।

कीर्तिमानी ४० खेलमा अपराजित रहेको रियल मड्रिडको अपराजित यात्रा टुंगिएको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड सेभिल्लासँग २–१ ले पराजित भयो ।

रियल मड्रिडको हारमा सर्जियो रोमोसको आत्मघाती गोल र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी स्टिभव जोवेटिकको गोल निर्णायक बन्यो । सेभिल्लाको मैदानमा भएको खेलमा पहिलो हाफमा गोल रहित बराबरीमा रोकिए पनि ६७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडलाई अग्रता दिलाए ।

तर खेला सकिन पाँच मिनेट बाँकी हुँदा रामोसले आफ्नो पूर्व क्लबका लागि आत्मघाती गोल गरे । इन्जुरी समयमा जोवेटिकले गोल गर्दै सेभिल्लालाई जित दिलाए । गएको अप्रिल ६ यता रियल मड्रिडको यो पहिलो हार हो । जितसँगै सेभिल्ला १८ खेलबाट ३९ अंकसहित बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ४० अंक छ । तेस्रो स्थानमा झरेको बार्सिलोनाको १८ खेलबाट ३८ अंक छ । राति भएका अरु खेलमा भ्यालेन्सियाले स्पानियोललाई २–१, सेल्टा डि भिगोले एलाभेसलाई १–० तथा एइबरले स्पोर्टिङ गिजोनलाई ३–२ ले हरायो । ग्रनाडा र ओसासुनाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।


(२०७३ माघ ३, सोमबार) ०३:१५ मा प्रकाशित

Exchange Rate

Nepali Patro