रातो नम्बरको अफवाह फैलाएको आरोपमा गायक गायिका पक्राउ, यसरी मच्चाइएछ आतंक

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ पुष २०, बुधबार) १२:३४

एनसेल नम्बरमा रातो नम्बरको फोन आएको अफवाह फैलाएको आरोपमा गायिका प्राशना पाण्डे र गायक दीपक बराईली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पाण्डे र बराईलीलाई पक्राउ गरेको हो । रातो नम्बरको अफवाह फैलिरहेका बेला गायक गायिका नै उसमा पक्राउ परेका हुुन् ।

प्रशनाले केही दिन अघि आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा पोष्ट गरेकी थिइन् । साथै विभिन्न अनलाइनलाई त्यही समाचार दिएकी थिइन् ।

सीआईबीले रातो नम्बरबारे अनुसन्धान गरिरहेको बेला यस्तो आएपछि उनलाई पक्राउ गर्‍यो । र, सोधपुछका क्रममा गायक दीपक बराइली तानिए र उनी पनि पक्राउ परेका छन् ।

सोधपुछका क्रममा खुले अनुसार सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसारका अनुसार दीपकले एक एप प्रयोग गरेर आफ्नो मोबाइलमा स्क्रीन सट गरेर राखेका थिए ।

त्यही स्क्रीन सटलाई पोष्ट गरेर प्रशनाले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आयो भनेर हल्ला चलाएकी थिइन् । प्रहरी उपरीक्षक चौधरीका अनुसार दुबैले गल्ती स्वीकार गरेरका छन् र, माफी मागेका छन् । तर, के कारबाही गर्ने भन्ने खुलेको छैन ।

यसरी मच्चाइएछ आतंक

पछिल्लो केही दिनयता एनसेलको सिमकार्ड प्रयोग गरी रातो नम्बरबाट फोन आउने र उठाउँदा जे पनि हुन सक्ने हल्ला फैलियो । अमूक ठाउँबाट सुरु भएको यो हल्लाले उपत्यका आसपासका बासिन्दालाई निकै आतंकित बनायो ।

रातो नम्बरको आतंकसँगै यसले सञ्चारमाध्यमदेखि प्रहरीको समेत ध्यान तान्यो । कतिपयले त रातो नम्बरको फोन उठाउँदा बेहोस भन्ने उडन्ते हल्लासमेत चलाए ।

यही क्रममा अहिलेसम्म एउटा मात्रै गीत गाएकी गायिका प्रशना पाण्डेले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा स्क्रिन सट हालिन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नै यसबारे अनुसन्धान थाल्यो । र,  गायिका पाण्डेलाई सोधपुछका लागि बोलायो । सुरूमा त रातो नम्बरबाट कल आएको दाबी गरेकी उनले धेरै बेर सत्यलार्इ लुकाउन सकिनन् र, आफ्नो मोबाइलमा फोन आएको नभई गायक दीपक बराइलीको मोबाइलमा भेटिएको स्क्रिन सट आफूले पोष्ट गरेको वयान दिइन् ।

लगत्तै सीआईबीको टोलीले गायक दीपक बराइलीलाई पक्राउ गर्‍यो । र, खुल्यो रातो नम्बरको रहस्य ।

सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसार मोबाइलमा कल आउँदा देखिने नम्बरको कलर (रंग) परिर्वतन गरिदिने प्रि-एपहरु प्रशस्तै बनेका छन् । र, त्यसैको दुरुपयोग गरेर नेपालमा रातो नम्बरको आतंक मच्चाइएको रहेछ ।

यो एप डाउनलोड गरेपछि मोबाइलको सेटिङ परिर्वतन गर्नासाथ फोन आउँदा रातो (आफूले चाहेको) रंगमा नम्बर डिस्प्ले हुन्छ । बराइलीले पनि त्यही गरेका थिए । साथै नम्बर परिर्वतनका लागि ‘फेक कल’ भन्ने अर्को एप प्रयोग गरिएको रहेछ ।

सुरुमा त यो हल्ला एनिनेमस ब्लगबाट सुरु भएको थियो । तर, गायिका प्रशनाले नै फेसबुकमा राखेपछि यो अफवाहलाई बल पुगेपछि बुधबार सीआईबीले डेमो नै गरेर देखाएको छ ।

सीआईबीका प्रहरी निरीक्षक सुरेश थापाले  भने, ‘यो तपाई हामी जो कोहीले एपको प्रयोग गर्न सकिन्छ कि भनेर हामीले डेमो नै गरेर देखाएका हौं ।’
प्रशनाले फेसबुकमा हालेको तस्वीरमा देखाइएको नम्बर नेपालमा एलोकट नै नभएको नम्बर हो । यसका लागि ‘फेक कल’ एप प्रयोग भएको छ । यसमा नम्बर आफैंले सट गर्न मिन्छ र आफूले सेट गरेको टाइममा कलिङ भनेर नम्बर देखाउँछ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका प्रमुख नवराज सिलवालले भने, ‘गुगल प्ले स्टोरमा गएर जसले पनि यस्तो बनाउँछ, यो भ्रममा नपर्न सबैलाई अनुरोध गर्छौं ।’


(२०७३ पुष २०, बुधबार) १२:३४ मा प्रकाशित

Exchange Rate

Nepali Patro